काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित ४ जनालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
आज जिल्ला अदालत रौतहटले २०६४ साल चैतमा भएको घटनामा दोषी ठहर गर्दै यस्तो सजाय सुनाएको हो ।
न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलम, उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको हो ।
रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।
उनीहरुलाई मुलुकी ऐन २०२० अनुसार जन्मकैद अर्थात २० वर्षको सजाय सुनाइएको हो ।
उनहरुलाई रौतहटको राजपुरफरदवा गाउँमा १७ वर्षअघि भएको बम विस्फोटनसम्बन्धी घटनामा संलग्न भएको आरोपमा जन्मकैद सजाय फैसला भएको हो । सोही घटनामा संलग्न भनिएका मुक्ति साहलाई भने सफाइ दिएको र फरार रहेका अन्य छ जनाको मुद्दा मुल्तबीमा राखिएको अदालतका श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिए ।
गत सोमबारदेखि जारी बहसमा आजसम्म बादी पक्षबाट तीन जना सरकारी वकिल र प्रतिवादीका तर्फबाट नौ जना गरी १२ जनाले बहस गरेका थिए । बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा विसं २०७६ कात्तिक १८ गते पूर्व सांसद आलमसहित ११ जनाविरूद्ध विस्फोटक पदार्थ बम प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो । विसं २०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरफरदवामा भएको बम विस्फोट भएको थियो ।
FACEBOOK COMMENTS