काठमाडौं । एलाइभ बचत तथा ऋण सहकारी संस्थाले आज बिहीबार आफ्नो १३औँ वार्षिकोत्सव मनाएको छ ।
काठमाडौं महानगरपालिका–२७ स्थित अशन (कमलाक्षी)मा केन्द्रीय कार्यालय रहेको सहकारीले रक्तदान कार्यक्रम आयोजना गरी संस्थाको १३औँ वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा उपस्थित रहेकामध्ये ५८ जनाले रक्तदान गरेको संस्थाका व्यवस्थापक उमेश खड्काले जानकारी दिए ।
उनका अनुसार कतिपय रक्तदान गर्न इच्छुकहरू रक्तचापको सन्तुलन नमिल्दा रक्तदान गर्नबाट बञ्चित भएका थिए । रक्तदाताहरूलाई रक्तदानकै समयमा प्रमाणपत्र उपलब्ध गराइएको पनि उनले जानकारी दिएका छन् ।
अस्पतालहरूमा जटिल प्रकृतिका बिरामीहरूको उपचारमा निरन्तर भइरहने रगत अभावको विद्यमान अवस्थालाई दृष्टिगत गर्दै संस्थाले ‘रक्तदान, जीवनदान’ नाराका साथ आफ्नो वार्षिकोत्सवको अवसरमा उक्त महत्वपूर्ण कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष शङ्कर बस्नेतले बताए । आगामी दिनमा पनि संस्थाले रक्तदानलगायत अन्य विभिन्न सामाजिक कार्यहरू गर्दै अगाडि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
सहकारीले अघिल्लो वर्ष १२औँ वार्षिकोत्सवको अवसरमा नयाँ बानेश्वरस्थित संगम चोकमा अवस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न र स्टेशनरी सामग्री सहयोग गरेको थियो । त्यहाँ आश्रित बालबालिकालाई सहयोग पुग्ने उद्देश्यअनुरूप सहकारीले १५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री, ६ हजार रुपैयाँ बराबरको स्टेशनरीका सामान र ८ हजार २०० रुपैयाँ नगद सहयोग गरेको संस्थाका प्रबन्धक उमेश खड्काले बताए ।
त्यसअघिका वार्षिकोत्सवहरूमा पनि संस्थाले कुनै न कुनै रूपबाट सामाजिक कार्यहरू गर्दै आएको संस्थाले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS