काठमाडौं । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो ।
चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सघंका अध्यक्ष सुनिल केसीले जानकारी दिए ।
हाल बैंकहरुले कर्जामा आधारदरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब एक प्रतिशत घटेपछि आधारदरमा पाँच प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।
यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम छ प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिनेछन् ।
यसअघि साधारण बचतमा न्यूनतम छ दशमलब ४२ प्रतिशतदेखि अधिकतम आठ दशमलब ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।
मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । हाल बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् ।
संस्थागततर्फ नौ प्रतिशत र ‘रेमिट्यान्स’ मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ ।
विकास बैंकहरुको छाता सङ्गठनका रुपमा रहेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ ।
संघकाृ निर्णयअनुसार विकास बैंकहरुले चैत महिनादेखि एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत कायम गरेको छ ।
एक वर्षभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ५० प्रतिशत कायम भएको । हाल विकास बैंकहरुले एकवर्षे वा सोभन्दा बढी दुवैको व्यक्तिगत मुद्दती निक्षेपमा ११ दशमलव ७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।
ब्याजदर घटाएसँगै विकास बैंकहरुले चैतमा एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव ६० प्रतिशत र साधारण बचतमा न्यूनतम छ दशमलव ६० प्रतिशतदेखि आठ दशमलव ६० प्रतिशत ब्याजदर प्रदान गर्नेछन् ।
नेपाल वित्तीय संस्था संघले मुद्दती निक्षेपको ब्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ ।
FACEBOOK COMMENTS