काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने सम्पूर्ण घरेलु खेल प्रतियोगिताहरू डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रशारण गर्ने भएको छ ।
घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्न क्यान र डिश मिडिया नेटवर्कबीच एक सम्झौता भएको छ । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले आज शुक्रबार सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अन्तर्गत नै नेपाल क्रिकेट संघले यसअघि आयोजना गरेको पीएम कप तथा मेयरर्स कपका महिला तथा पुरुष गरी चार वटा प्रतियोगिता डिशहोमको ‘एक्सन स्पोर्टस्’ च्यानलले प्रत्यक्ष प्रशारण गरिसकेको छ ।
आगामी दिनमा क्यानद्वारा आयोजना हुने सम्पूर्ण प्रतियोगिताहरू डिशहोमको एक्सन स्पोर्टस्मा प्रत्यक्ष प्रशारण हुने छन् । क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले यस सम्झौतापछि क्रिकेटप्रेमी नेपाली दर्शकहरूले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र यसले क्रिकेटको लोकप्रियतालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै नेपाली प्रतियोगिताको प्रवर्धनका निम्ति योगदान पुर्याउन पाएकोमा डिश मिडिया नेटवर्कका प्रबन्धनिर्देशक आचार्यले गौरवान्वित महसुस गर्दै खुशी व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS