काठमाडौं। अलस्टार ई–स्पोर्ट्स नेपालको आयोजनामा ‘अलस्टार ई–स्पोर्ट्स च्याम्पियनसिप २०२५’ सफलता पूर्वक सम्पन्न भएको छ ।
प्रतियोगितामा पब्जी मोबाइल, मोबाइल लिजेन्ड्स र ई–फुटबल जस्ता लोकप्रिय गेमहरूमा युवाहरुले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताअन्तर्गत पब्जी मोबाइलमा टिम दादा ले उपाधि जित्न सफल भएको छ भने सरी एल ले उपविजेताको स्थान हासिल गरेको छ। जेरो फेयर भने तेस्रो स्थानमा रह्यो।
मोबाइल लिजेन्ड्समा फोनिक्स नेपाल ले पहिलो स्थान हात पार्दा चिनिस कि फिनिस ले उपविजेताको उपाधि जित्यो। त्यस्तै, ई–फुटबलतर्फ रिजवान श्रेष्ठ विजेता बनेका छन् भने आशिष केसी ले दोस्रो स्थान प्राप्त गरे।
विजेताहरूलाई २५ हजार रुपैयाँभन्दा बढी नगद पुरस्कारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा प्लस टु दिएर बसेका विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो।
अलस्टार ई–स्पोर्ट्स संस्थाका अनुसार पछिल्लो समय नेपालमा पनि ई–स्पोर्ट्सप्रतिको आकर्षण बढ्दै गएको छ। विज्ञान र प्रविधिको विकाससँगै विद्युतीय माध्यमबाट खेलिने यी खेलहरू विश्वभरि नै लोकप्रिय बन्दै गएका छन्। अमेरिका, जापान, कोरिया, चीन र भारत जस्ता देशहरूमा ई–स्पोर्ट्सलाई व्यावसायिक खेलका रूपमा सरकारी मान्यता समेत दिइसकिएको छ।
नेपालमा पनि शिक्षा सँगसँगै युवाहरूमा ई–स्पोर्ट्सको विकास र विस्तारलाई सुदृढ बनाउने उद्देश्यले यस्ता प्रतियोगिताहरू आयोजना गर्न थालिएको संस्थाले जनाएको छ। आयोजकको भनाइमा, सन् २००० को दशकपछि विश्वभरि व्यापक रूपमा विकास हुँदै आएको ई–स्पोर्ट्सलाई नेपालमा पनि व्यवस्थित रूपमा अगाडि बढाउने लक्ष्य राखिएको छ।
FACEBOOK COMMENTS