काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थिरताका लागि बनाइएको गठबन्धन लामो समयसम्म टिक्ने बताएका छन् ।
गठबन्धनले जिल्लाको पूर्वी तिवारीभञ्ज्याङमा गरेको चुनावी सभालाई सम्बोधन गर्न भोजपुर पुगेका दाहालले अहिलेको गठबन्धन विकास र समृद्धिका लागि गरिएकाले तत्काल नभत्किने बताए ।
दाहालले भने, “विचारमा यो वा त्यो नभनेर गठबन्धनका सबै उम्मेदवार जिताउने गरी लाग्नुस्, यो चुनाव अग्रगामी र प्रतिगामीबिचको लडाइँ भएकाले अग्रगामीले चुनाव जित्नु जरुरी छ ।”
अध्यक्ष दाहालले गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदन किराँती विजयी बने र उहाँलाई मन्त्री बनाउनेसमेत बताए । विगतलाई सम्झँदै अध्यक्ष दाहालले भने, “मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ । पहिला पनि मन्त्री बनाउन खोजिएकै हो सकिएन अब निर्वाचित भएपछि रोजेकै मन्त्रालय दिन्छु । तपाईंहरू सुदनलाई जिताएर पठाउनुस् ।”
किराँती २०६४ र २०७४ सालको निर्वाचनबाट दुई पटक सांसद भई सकेका छन् । सङ्घीय सांसदका लागि किराँती र एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश एकका पूर्व मुख्यमन्त्री शेरधन राई बिच प्रतिस्पर्धा हुनेछ ।
FACEBOOK COMMENTS