काठमाडौँ । इरानमा खसेको अमेरिकी लडाकु विमानपछि पाइलटको खोजीका लागि अमेरिका दुई छुट्टाछुट्टै अभियान सञ्चालन गरिरहेको छ ।
अमेरिकी अधिकारीहरूले खोज तथा उद्धार अभियान तीव्र रूपमा जारी रहेको अल जजिरासँगको कुराकानीमा बताएका छन्।
पहिलो अभियान शुक्रबार दक्षिण–पश्चिम इरानमा खसेको लडाकु विमानमा रहेका एक सैनिकको खोजीमा केन्द्रित रहेको छ । उक्त विमान खसेपछि ती सदस्य बेपत्ता भएका थिए ।
दोस्रो अभियान खाडी क्षेत्रको होर्मुज नजिक खसेको ए–१० आक्रमणकारी विमानसँग सम्बन्धित छ । सो विमानमा दुई जना सवार थिए, जसमध्ये एक जनाको उद्धार भइसकेको छ भने अर्काको खोजी जारी छ।
यसैबीच, बेपत्ता सदस्यको खोजीका लागि पठाइएका दुई ‘ब्ल्याक हक’ हेलिकप्टरमाथि इरानको हवाई प्रतिरक्षा प्रणालीले आक्रमण गरेको जनाइएको छ । यद्यपि ती हेलिकप्टरमा ठूलो क्षति नभएको र अभियान अझै जारी रहेको बताइएको छ ।

इरानमा अमेरिकी लडाकु विमान खसालिएको घटनाबारे विभिन्न विवरण सार्वजनिक भइरहेका छन् । ह्वाइट हाउसले यस घटनाबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराइएको पुष्टि गरेको छ । घटना त्यस्तो समयमा भएको हो, जब इरानको सरकारी टेलिभिजनले अमेरिकी पाइलटलाई जीवितै नियन्त्रणमा ल्याउनेलाई इनाम दिने घोषणा गरेको थियो ।

सञ्चारमाध्यमका अनुसार खसेको विमान एफ– १५ ई प्रकारको थियो, जसमा एक पाइलट र एक हतियार प्रणाली अधिकृत सवार थिए । आक्रमणपछि दुवैले सुरक्षित रूपमा विमानबाट बाहिर निस्किएका थिए । उपलब्ध विवरणअनुसार तीमध्ये एक जनाको उद्धार भइसकेको छ भने अर्को अझै बेपत्ता छन् । इरानले पनि आफ्नै स्तरमा खोजी तीव्र बनाएको र स्थानीय बासिन्दासँग सहयोग मागिएको बताइएको छ ।

अमेरिका, इजरायल र इरानबीच युद्ध सुरु भएयता हालसम्म ३६५ अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी रक्षा मन्त्रालयको सैन्य शाखाले सार्बजनिक गरेको विवरण अनुसार स्थलसेनातर्फ सबैभन्दा धेरै २४७ जना घाइते भएका छन् भने नौसेनाका ६३ जना प्रभावित भएका छन् । त्यसैगरी, मरीन समूहका १९ जना र वायुसेनाका ३६ जना सैनिक घाइते भएका विवरणमा उल्लेख छ । यस युद्धमा हालसम्म १३ जना अमेरिकी सैनिकको ज्यान गएको पनि पुष्टि गरिएको छ ।