काठमाडौँ । सरकारले चीनबाट खरिद गरेको भेरोसेल खोपको ४४ लाख डोज शुक्रबार काठमाडौं आइपुगेको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार नेपालले दोस्रो चरणमा चीनबाट खरिद गरेको ६० लाख डोज खोपमध्ये ४४ लाख शुक्रबार आएको हो।
कोरोनाविरुद्ध प्रयोग हुने उक्त खोपलाई वाग्मती प्रदेशको हेटौंडा, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको कास्कीमा शुक्रबार नै पठाएको महाशाखा प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए। बाँकी प्रदेशमा आइतबारसम्म पठाउने तयारी भइरहेको छ।
चिनियाँ रेडक्रसले नेपाल रेडक्रसका लागि दिने थप १ लाख डोज खोप केही दिनमा नेपाल आइपुग्ने महाशाखाले जनाएको छ। थप ४४ लाखसहित नेपालमा कुल १ करोड ७७ लाख डोज खोप आएको छ।
चीनबाट खोप आएकाले ४ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिने परिवार कल्याण महाशाखा प्रमुख डा। विवेककुमार लालले बताए। तीनवटा हिमाली जिल्लाबाहेक सबैमा खोप अभियान सुरु गर्ने महाशाखाले जनाएको छ। मनाङ, मुस्ताङ र रुकुम पूर्वका जिल्लामा पूरै जनसंख्यालाई खोप लगाइसकिएको महाशाखाले जनाएको छ।
जिल्लामा खोपको ‘कभरेज’ हेरेर यसपालि खोप अभियानको प्राथमिकता तय गरेको परिवार कल्याण महाशाखाले जनाएको छ। जसमा काभे्र र चितवनमा ३५ वर्ष उमेरमाथिकालाई, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप, सर्लाही, अछामलगायत १० जिल्लामा ४० वर्ष उमेरमाथिकालाई र बाँकी ५५ जिल्लामा ४५ वर्ष उमेरमाथिकालाई खोप दिइनेछ।
त्यसैगरी पर्यटन व्यवसायी, १० वटा हिमाली जिल्लाका १८ वर्ष उमेरमाथिका सबैलाई खोप अभियानमा समेटिनेछ। यो खोप अभियानमा १८ वर्षमाथिका सबै विद्यार्थीलाई खोप दिने निर्णय भएको महाशाखाले जनाएको छ।
खोप भएसम्म सबै उमेर समूहलाई दिने सरकारको नीतिअनुसार जनघनत्व बढी भएका सहरी जिल्लामा अन्य जिल्लाको तुलनामा बढी खोप दिने तयारी भएकाले कतिपय जिल्लामा उमेर समूहमा घटीबढी हुनसक्ने परिवार कल्याण महाशाखा प्रमुख लालले बताए। कतिपय जिल्लाले पहिले नै कम उमेरका जनसंख्यालाई खोप दिएकाले पनि उमेर समूह घटीबढी हुन गएको हो।
काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लामा भेरोसेल खोपको पहिलो डोज लिइसकेकालाई दोस्रो डोज दिनेगरी असोज ४ देखि ६ गतेसम्म तीनदिने अभियान सञ्चालन गर्ने भएको छ। खोप लिन जानुअघि विद्युतीय फारम भर्नुपर्नेछ। काठमाडौं जिल्लाले १२ वटा स्थानीय निकायका केन्द्रसहित मुख्य अस्पतालबाट खोप दिने निर्णय गरेको छ।
नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती अस्पताल, प्रसूति गृह र वीरेन्द्र सैनिक अस्पतालबाट पनि खोप दिइनेछ। थप नयाँ केन्द्रबाहेक काठमाडौं महानगरपालिकाका १७ र १५, कीर्तिपुर नगरपालिकाको १० वडा, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, टोखा नगरपालिका, गोकर्णेश्वर, शंकरापुर, कागेश्वरी मनोहरा नगरपालिकामा खोप केन्द्र तोकिएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS