दाङ । वैदेशिक रोजगारीका क्रममा साउदी अरब रहेका रोल्पा त्रिवेणी गाउँपालिका–७ गाङका ४४ वर्षीय प्रदीप परियारको ‘फेसबुक’मार्फत भोजपुर षडानन्द नगरपालिकाकी ३५ वर्षीया लक्ष्मी राईसँग प्रेम बस्यो ।
एकअर्कालाई ‘कहिल्यै नेदेखेका’ उनीहरूबीच यति अगाध प्रेम बस्यो कि विवाह नै गर्ने निधोमा पुगे । घण्टौं प्रेमका कुरा हुन्थे । जसले ‘विवाह गरिहाल्न’ उनीहरूलाई उत्साहित पारिरहन्थो । परियार साउदी अरब, राई भोजपुरमा । प्रेमप्रति अगाध विश्वास । उनीहरूको प्रेमलाई ‘न भूगोलले छेक्यो, न त जात’ले नै । विवाहको तगारो थियो त भौतिक उपस्थिति मात्रै ।
परियार स्वदेश फर्कन खोजे तर मिलेन । यसपछि उनीहरूबीचको सहमतिअनुसार ७-८ महिनाअघि राई भोजपुरबाट रोल्पा पुगिन् । परियारकै घरमा बसिन्, परिवार चलाइन् । प्रेमीले विदेशबाट पठाएको रकम सदुपयोग गरिन् । छरछिमकले जेसुकै भनून् रु खासै महत्व दिइएन । किनकि, निकट भविष्यमै उनीहरूबीच विवाह गर्ने योजना थियो । प्रेम विवाहमा परिणत गर्ने उनीहरूको एउटै लक्ष्य थियो ।
एक्लो जीवन बिताइरहेका ८७ वर्षीय बाबु भाइराम दमाई मात्रै । राई ‘बुहारी’का रूपमा आएपछि भाइराम पनि मख्ख थिए । ससुराको रेखदेखदेखि घरगृहस्थीसम्म सम्हालेकी थिइन्, राईले । यसले परदेशमा रहेका परियारलाई सन्तोष मिलेको थियो ।
जीवनमा एकैपटक पनि ‘भौतिक’ रूपमा नदेखेका महिलाले आफ्नो घर सम्हालेको, वृद्ध बाबुको स्याहारसुसार गरेको कुराले प्रेमिकाप्रति परियारको विश्वास अगाध बढ्यो । तर, सोचेजस्तो जीवन नहुने रहेछ । आइतबार जे घटना भयो, त्यो परियारको सपनामा ‘पूर्णविराम’ बन्यो । प्रेम विवाहमा परिणत गर्ने उनको योजना भताभुंग हुन पुग्यो । वृद्ध पिता भाइरामको बुढेसकालको सहारा खोसियो । प्रेमिका मेलापात गर्न गएको बेला आइतबार भिरबाट लडेर मृत्यु भएपछि परियारको सपना तुहिएको छ ।
रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीका अनुसार राई आइतबार ‘घाँस काट्न’ भनेर बाख्रासहित नजिकै जंगलमा गएकी थिइन् । सँगै गाउँले पनि थिए । गाउँलेले उनी हिँड्न थालेको बाटो ‘धेरै अप्ठयारो भएको’ भन्दै राईलाई ‘नजान’ भने । तर, त्यसअघि पनि ‘त्यो बाटो हिँडेसकेको’ हुनाले उनले मानिनन् ।
परिणाम, भिरबाट लड्न पुगिन् । र, घटनास्थलमै मृत्यु भयो । घटनास्थल पुगेको प्रहरी टोलीले राईले ‘आफू जोगिन बुट्यान तथा झार जंगल समात्न प्रयत्न गरेको’ देखिएको जनाएको छ । डीएसपी सुवेदी ‘भिर माथिल्लो भागदेखि नै उनका कपडाका टुक्राटाक्री फेला परेको, कतै झार उखेलिएको, भिरबाटै पल्टिँदै मुनि पुग्दा शरीरभर घाउ चोट लागेको’ बताउँछन् । राईको शव पोस्टमार्टमका लागि दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS