काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेलले सहकारीको बदनाम हुनु भनेको ‘सोसियो–इकोनोमी’को बदनाम भएको बताएका छन् ।
आज मंगलबार काठमाडौंमा भएको साक्षात्कार कार्यक्रममा उनले सहकारी सदस्यताको आधारमा र इक्युएल फुटिङको आधारमा चलाउन प्रयत्न गरिएको भए आज सहकारीको यो दशा र बदनाम नहुने बताउँदै सहकारीको बदनाम हुनु भनेको सोसियो–इकोनोमीको बद्नाम भएको बताएका हुन् ।
पूर्वाग्रह र कथित आपराधिक मानसिकताबाट दर्ता भएका सहकारीहरूले गर्दा आज सिङ्गो सहकारी क्षेत्रको बदनाम भएको उनले बताएका छन् । ‘म पनि सहकारीको सदस्य हुँ । यदि सहकारी सदस्यताको आधारमा र इक्युएल फुटिङको आधारमा चलाउन प्रयत्न गरेको भए आज सहकारीको यो दशा र बदनाम हुनुपर्ने थिएन । सहकारीको बद्नाम हुनु भनेको सोसियो–इकोनोमीको बद्नाम हुनु हो । पूर्वाग्रह र कथित आपराधिक मानसिकताबाट दर्ता भएका सहकारीहरूले गर्दा आज सिङ्गो सहकारी क्षेत्रको बदनाम भएको छ । संविधानले समाजवादउन्मुख अर्थतन्त्रको कुरा गरेको छ । त्यसैले सहकारीको आवश्यकता हामीलाई छ,’ उनले भने ।
यस्तै, पूर्वमन्त्री पोखरेलले वर्तमान गृहमन्त्री रवि लामिछानेको नाम सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा मिडियामा तथ्यसहित समाचार आएको टिप्पणी पनि गरेका छन् । यस विषयमा मन्त्री लामिछानेले तत्काल पत्रकार सम्मेलन गरेर आफ्नोबारे स्पष्टीकरण दिनुपर्ने सुझाव उनले दिए । तर, सहकारी ठगी प्रकरण जोसुकै संलग्न भए पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा आफू स्पष्ट रहेको धारणा उनले व्यक्त गरेका छन् ।
‘सहकारी ठगी प्रकरणमा जोसुकै संलग्न भए पनि कारबाही हुनुपर्छ,’ पूर्वमन्त्री पोखरेलले भने, ‘मुलुकको गृहमन्त्री रविजीलाई भन्छु– मैले दस्तावेज पढेको छैन् । पत्रिका पढेको हुँ । यदि आज पत्रिकामा आएकोजस्तै उहाँले डेढ करोड रूपैयाँ भुक्तानी लिएको र कारोबार गरेको हो भने उहाँले अब दुनियाँलाई ढाँट्नु हुँदैन् । उहाँ निर्वाचन लड्दाखेरि पुराना पार्टी, गभर्नेन्स र भ्रष्टाचारको विरुद्ध भनेर चुनाव लड्न्ुभयो । त्यो चुनाव लडेको इथिक्स छ भने उहाँले आज बेलुकै आफ्नो स्थिति सार्वजनिक गर्नुपर्छ । त्यो आज मुलुकको माग हो ।’
एमालेले कसैले गल्ती, भ्रष्टाचार र बदमासी गर्छ भने त्यसलाई काँध नथाप्ने पनि उनले स्पष्ट गरे । ‘आज जुन तथ्य आएका छन्, त्यो तथ्यमा सत्यता छ भने उहाँले यो मुलुकलाई आज बेलुका प्रेस मिट गरेर गृह मन्त्रालयबाट स्पष्टीकरण दिनुपर्छ । यथार्थ जनतासामू राख्नुपर्छ । यसो गर्दामात्रै रास्वपा टिक्न सक्छ । नभए त्यो नौटङ्की गरेर अथवा पुराना पार्टीलाई बदनाम गरेर उहाँको भविष्य हुँदैन् ।’
उनले रास्वपाका नेताहरूले पुराना पार्टीको विकल्प खोज्ने भनेर गरेको भाषणप्रति कडा आपत्ति समेत जनाएका छन् । देश र जनताका लागि काम गर्ने पार्टी कहिल्यै पनि पुरानो नहुने जिकिर पोखरेलको छ । उनले भने, ‘नेपालमा कुनै पनि पार्टी पुरानो हुँदैनन् । मार्क्सवाद कहिल्यै पुरानो हुँदैन् । जनताको एजेण्डा लिएर हिँड्नेहरू कहिल्यै पुरानो हुन सक्दैनन् । नेपालको अर्थतन्त्र गाउँमा बस्ने किसानले र मजदुरले बढी बुझ्दछन् । हावर्ड विश्वविद्यालयमा पढ्नेले नेपालको अर्थतन्त्र बुझ्दैनन् । आज धेरै पढेका अर्थशास्त्रीभन्दा कम पढेका भरतमोहन अधिकारी र विष्णु पौडेल नेपालको सबैभन्दा जनपक्षीय अर्थशास्त्री भएका छन् । यो तथ्य हो ।’
FACEBOOK COMMENTS