काठमाडौं । देशभरबाट आन्दोलनमा आएका शिक्षकहरु कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरुले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले सवारी आवागमन अस्तव्यस्त भएको हो ।
ट्राफिक प्रहरीले माइतीघर मण्डला हुँदै चल्ने सवारी साधनहरुलाई डाइभर्सन गरेको छ । नयाँबानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका स्थानबाट सवारी साधनहरुलाई डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले माइतीघर क्षेत्रको सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ ।
उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरिरहेका छन् ।
सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।
FACEBOOK COMMENTS