काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका भौतिकबाट बिमा कम्पनीमा २३ अर्ब ४५ करोड रुपैयाँ दाबी परेको छ । जसमा अहिलेसम्म पाँच अर्ब १८ करोड दाबी रकम बीमितलाई भुक्तानी भएको छ ।
नेपाल बिमा प्राधिकरणका अनुसार निर्जीवन बिमा कम्पनीमा परेका कूल ३ हजार ३०३ वटा बिमा दाबीको करिब २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्म ५ अर्ब १८ करोड भुक्तानी भएको हो ।
प्राधिकरणका अनुसार सम्पत्ति बिमातर्फ करिब तीन अर्ब ८२ करोड र मोटर बिमातर्फ करिब एक अर्ब २२ करोड भुक्तानी भएको छ ।
इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फ करिब सात करोड ५० लाख, परिवहन बिमातर्फ करिब एक करोड ५५ लाख र अन्य बिमातर्फ करिब पाँच करोड ५० लाख अग्रिम भुक्तानीसमेत गरी दाबी रकम भुक्तानी भएको छ ।
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनःबिमा कम्पनीले निर्जीवन बिमा कम्पनीलाई करिब तीन अर्ब दुई करोड अग्रिम भुक्तानीसमेत गरी पुनःबिमा दाबी भुक्तानी गरेको छ ।

नेपाल पुनःबिमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बिमा कम्पनीबाट परेका कूल दुई हजार ८६२ वटा पुनःबिमा दाबीको दाबी रकम करिब १६ अर्ब ६२ करोड रहेको अध्यावधिक तथ्याङ्क छ ।

FACEBOOK COMMENTS