काठमाडौं । संयुक्त जनआन्दोलन परिचालन समितिले राजसंस्था पुनर्स्थापनाका लागि सुरू गरिएको आन्दोलन अशान्त बन्नुमा सत्ताधारीहरूको घुसपैठ मुख्य कारण भएको बताएको छ ।
जनआन्दोलन जनताकै नियन्त्रणमा हुने र नेताको नियन्त्रणमा नहुने भन्दै समितिले आजको आन्दोलनमा सत्ताधारीहरूको घुसपैठ भएको बताएको हो ।
समितिका प्रवक्ता स्वागत नेपालले विज्ञिप्त जारी गर्दै भनेका छन्, ‘राजसंस्था पुनर्स्थापनाका लागि सुरू भएको शान्तिपूर्ण जनआन्दोलनमा भ्रष्ट, निरङ्कुश र प्रतिगामी सत्ताधारीहरूद्वारा घुसपैठ गराई अशान्त वातावरण सृजना गराइएकोमा संयुक्त जनआन्दोलन परिचालन समिति निन्दा व्यक्त गर्दछ ।’ सरकारले अघिल्लै दिनदेखि विभिन्न क्षेत्रमा निषेध गर्दै दमनको श्रृङ्खला सुरु गरेको समितिको ठहर छ ।
समाजवादी मोर्चाले भृकुटीमण्डपमा आयोजना गरेको जनसभाका भन्दा कयौँ गुणा बढी सहभागीता राजावादी आन्दोलनमा देखिएपछि आत्तिएका सत्ताधारी जत्थाका घुसपैठियाहरूले निजी घरभित्रबाट जनसमुदायमाथि प्रहार गरेको र प्रदर्शनकारीले आत्मरक्षाका लागि प्रतिकार गरेको विज्ञप्तिमा उल्लेख छ । समितिका नेताहरू समेत कार्यक्रमस्थलमा नआइपुग्दै आन्दोलनमा घुसपैठ भएको दाबी विज्ञप्तिमा गरिएको छ ।
घुसपैठका कारण आजको घटना भएको भन्दै समितिले यसको सबै जिम्मा सरकारले लिनुपर्ने बताएको छ । संयुक्त जनआन्दोलनको नीति शान्तिपूर्ण र भद्र अवत्रा रहेको स्पष्ट पार्दै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सरकारले लिने दमनपूर्ण नीति र घुसपैठियाहरूमार्फत सञ्चालन गरिने प्रतिकारात्मक गतिविधिका विरुद्ध यो आन्दोलन अव सरकारले तोकिदिएको क्षेत्रमा मात्रै सीमित नरहने तथ्य पनि चेतावनीपूर्ण रूपमा जानकारी दिन चाहान्छौँ ।’
समितिले आज घाइते आन्दोलनकारी प्रहरीहरूको तत्काल निःशुल्क उपचार गर्न तथा क्षति पुगेका व्यवसायीहरूका लागि क्षतिपूर्तिको तत्काल व्यवस्था गर्ने जिम्मेवारी पनि सरकारको रहेको हुँदा तत्काल सोको प्रबन्ध गर्न अनुरोध गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति–
FACEBOOK COMMENTS