काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० १२० दिनभित्र शहीद स्मारक ए डिभिजन लिग सुरू गर्न सहमत भएको छ ।
मंगलबार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा भएको बैठकमा एन्फाले अबको १२० दिनभित्र ए डिभिजन लिग गर्न सकिने बताएको हो । बैठकमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले १२० दिन भित्र लिग गर्न सकिने बताएका हुन् । मन्त्री गुप्ताले एन्फालाई लिग मिति प्रस्ताव गर्न निर्देशन दिएपछि महासचिव राईले उक्त अवधिको प्रस्ताव गरेका हुन् ।
एन्फाका महासचिव राईले क्लबहरुसँगको सहमतिमा नै आफुहरुले यसअघि मिति तय गरेकाले अहिले पनि क्लब तयार भएमा एन्फा लिग गर्न तयार रहेको धारणा राखेका थिए ।
छलफलमा एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसँगै खेलाडी संघका अध्यक्ष विक्रम लामासहित तीनवटै विभागीय टोलीका प्रतिनिधि र अन्य केही क्लबका प्रतिनिधि सहभागी थिए ।
कार्तिक १७ मा एन्फा र ए डिभिजन क्लबहरुबीच भएको सहमति अनुसार २०८३ को पुसदेखि ए डिभिजन गर्ने निर्णय गरेपछि खेलाडी आन्दोलित भएका छन् ।

पछिल्लोपटक २०७९ मा आयोजित ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो। त्यसयता एन्फाले लिग गर्न सकेको छैन ।

FACEBOOK COMMENTS