काठमाडौं । नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय बाँके सर्वोत्कृष्ट बनेको छ ।
काठमाडौं, ललितपुर र अन्य थुप्रै प्रभावशाली जिल्ला प्रहरी कार्यालयहरूलाई पछि पार्दै बाँके प्रहरी कार्यालय चैत महिनामा देशभरबाटै पहिलो बनेको हो । प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जीसीको नेतृत्वमा रहेको उक्त कार्यालय ‘सर्वोत्कृष्ट कार्यसम्पादन’तर्फ प्रथम भनेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
नेपाल प्रहरी सङ्गठनको विभागीय नीति तथा निर्देशनलाई आत्मसात गर्दै अनुशासित, लगनशील, इमानदार, व्यावसायिक र कर्तव्यनिष्ठ भएर जिम्मेवारी निर्वाह गरी उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा उक्त कार्यालय र कार्यालय प्रमुख एसपी जीसीलाई पुरस्कृत गरिएको छ ।
जीसीले जिल्ला प्रहरी कार्यालय बाँकेको नेतृत्व सम्हालेपछि जिल्लामा शान्तिसुरक्षाको अवस्था सुदृढ बनाउनाका साथै अपराध अनुसन्धानमा समेत उल्लेखनीय उपलब्धि हासिल गरेको बताइएको छ ।
नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै काम गर्दै आएका एसपी जीसीले आफू पुरस्कृत हुनु थप जिम्मेवारीको अनुभूति भएको प्रतिक्रिया दिएका छन् । उनले आगामी दिनमा पनि आम नागरिकलाई सुरक्षित वातावरणको अनुभूति गराउने, प्रहरी सेवामा नागरिकमैत्री व्यवहारलाई अझ सुदृढ बनाउने तथा पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न निरन्तर प्रतिबद्ध रहने बताएका छन् ।


एसपी जीसी नेपाल प्रहरीका काबिल प्रहरी अधिकारीका रूपमा चर्चित छन् । यसअघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्याको घटनाको सुरूदेखि नै अनुसन्धान गरेका तत्कालीन सीआईबी अधिकृत प्रहरी नायव उपरीक्षक (डीएसपी) जीसीले त्यतिबेला नै स्पष्ट रूपमा भनेका थिए, ‘निर्मला प्रकरणको दोषी दिलिपसिंह विष्ट नै हो भन्नेमा म ढुक्क छु ।’ तर, राजनीतिक परिवेश गलत हुँदा उनको यो निष्कर्ष आफैंलाई भारी पर्न जाँदा निलम्बनको सामना गर्नुपरेको थियो ।

त्यतिमात्र होइन उनको अनुसन्धानको सुइले सङ्केत गरेको बिष्टलाई भीड र मिडियाको दबाब थेग्न नसकेर बीचैमा थुनामुक्त गर्न बाध्य भएका थिए ।

गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा अत्यन्त पोख्त मानिने एसपी जीसीले केही वर्षअगाडि काठमाडौंको तीनकुनेमा भएको चार जनाको सामुहिक वीभत्स हत्याका मुख्य अभियुक्त सञ्जय भण्डारीलाई ३६ घण्टाभित्र पक्राउ गर्न सफल भएका थिए ।