‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल,
सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल’
काठमाडाैं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको यो कविताको पंक्ती जस्तै मानिसमा दृढ ईच्छाशक्ति र लगनशिलता भयो भने कुनै पनि कार्य असम्भव हुँदैन । जीवनमा सबल भएर पनि केहि गर्न सकिँन भन्नेहरुका लागि एक उदाहरणीय र प्रेरणाका पात्र हुन्, अनिल कुमार महर्जन । उनको सिर्जनशीलताको अगाडि शारिरिक दुर्बलताले मान्छेमा इच्छा शक्ती भयो भने हरेक काम गर्न सक्छ भन्ने उदाहरण दिएको छ ।
शारिरिक रुपमा अशक्त भएपनि उनले चलचित्र, लघुचलचित्र, वृत्तचित्र, म्युजिक भिडियोहरु सम्पादन गरेर महिनाको लाखौं आम्दानी गर्ने गर्छन् । कुनै ईन्स्टिच्युटमा नगई घरमा आफै सम्पादन कला सिकेर हजारौं भिडियोहरु सम्पादन गरिसकेका अनिलले एक दर्जन बढि म्युजिक भिडियोहरु तथा लघुचलचित्रहरुसमेत निर्देशन गरिसकेका छन् ।
अनिलको बाल्यकाल, विवाह र शिक्षा
ललितपुरको कुपन्डोलमा सुनिल महर्जन र शान्ति महर्जनको कोखबाट जन्मिएका ४७ वर्षीय अनिल कुमार महर्जन घरका जेठा सन्तान हुन् । वंशाणुगत शारीरिक समस्या मार्बल बोन डिजिज अर्थात् हड्डीभित्रको मासी नबढ्ने समस्याका कारण अनिल सानैदेखि हिँड्न सक्दैन थिए । आमामा देखिएको यो समस्या तीनजना दाजुभाइमध्ये अनिलसँगै माईला भाई अजय महर्जन पनि मार्बल बोन डिजिज सर्भाइभर हुन् ।
घिस्रिँदै हिँड्नुपर्ने भएका कारण अनिल विद्यालय पढ्नको लागि जान सक्दैन थिए । उनी घरमै स्वअध्ययन गरेर परिक्षा दिने गर्थे । बहिनीहरुलाई सिकाउन आएको शिक्षकले नै उनलाई पनि घरमा नै सिकाउने गर्दथे । अनिललाई बुबा आमाले बोकेर कहिलेकाहिँ स्कुल लगिदिने गर्थे । ५१ सालमा एसएलसी पास गरेका अनिलले निम्स कलेजबाट व्यवस्थापनमा १२ कक्षा सम्मको अध्ययन पुरा गरेका छन् । उनी बैसाखीको सहाराले कलेज जाने गर्दथे । उनको इन्जिनियरिङ पढ्ने ईच्छा थियो तर आर्थिक र शारिरिक समस्याकै कारण पढ्न नसकिएको उनी बताउँछन् ।
२७ वर्षको उमेरमा दोलखाकी मन्जु कार्कीसँग वैवाहिक बन्धनमा बाँधिएका अनिलका १ छोरा र १ छोरी गरि २ सन्तान छन् । जुनसुकै स्थानमा जाँदा पनि श्रीमती र छोराछोरीले साथ दिने गरेका छन् । बुबाको महानता, श्रीमतीको त्याग, आमा र छोराछोरीको प्रेमले जीवन रसमय बनेको अनिल बताउँछन् ।
वंशाणुगत शारीरिक समस्या मार्बल बोन डिजिज
मार्बल बोन डिजिज एक दुर्लभ आनुवंशिक समस्या हो, जसलाई ओस्टियोपेट्रोसिस पनि भनिन्छ । जसले हड्डीको विकासलाई प्रभावित गर्दछ । हड्डीको पुनर्निर्माणमा बाधा पुर्याउँछ । परिणामस्वरूप हड्डी असामान्य रूपमा कठोर, तर अत्यन्त भंगुर बनाउँछ । यस्तो अवस्थामा हड्डीहरू असामान्य रूपमा बाक्लो हुन्छन् र जतिबेला पनि भाँचिने सम्भावना अत्यधिक हुन्छ । हड्डीहरू कमजोर हुने भएका कारण ठोक्किन र लड्नबाट बच्नुपर्ने हुन्छ ।मार्बल हड्डी रोगको लागि जिम्मेवार आनुवंशिक उत्परिवर्तन दोषपूर्ण जीन बोक्ने आमाबाबुबाट वंशाणुगत हुन सक्छ । यी उत्परिवर्तनहरूले ओस्टियोक्लास्ट भनिने कोशिकाहरूको कार्यलाई असर गर्छ, जुन नयाँ हड्डीको विकासको लागि बाटो बनाउन पुरानो हड्डीको तन्तुलाई तोड्न जिम्मेवार हुन्छ ।
मार्बल बोन डिजिज सर्भाइभर अनिलको जीवनमा पनि उपचारको लागि बुबाले धेरै अस्पतालहरुदेखि भारतसम्म बोकेर लगेका थिए । धेरै हड्डीको डाक्टरसँग सल्लाह लिँदा यो समस्या निको हुने उपचार नभएको बरु लड्न, ठोक्किनबाट बच्नुपर्ने सुनाएका थिए । त्यसपछि अस्पतालहरु धाउन छोडेको अनिल बताउँछन् । बाहिर जाँदा भर्याङ चढ्न उक्लन समस्या भएका कारण अनिल हत्तपत्त बाहिर निस्कँदैनन् । हिँडडुल गर्न केही समस्या भए पनि सम्पादनमा कुनै समस्या नभएकाले आफूलाई अन्य सामान्य मानिसझैँ महसुस हुने उनले बताए । उनी आफुलाई मिष्टर ग्लासका रुपमा चिनाउँछन् ।
मिष्टर ग्लासको संघर्ष र सपना
सानोमा घिस्रिएर हिँड्ने अनिल ६० सालपछि बैसाखीको सहारामा हिँड्न थाले । उनले जीवनमा केहि गर्नुपर्छ भनेर आफै मोबाईल पसल खोलेर रिपेयरिङको काम गर्न थाले । २० वर्ष जति मोबाईल पसलमै बिताए । आफुभित्र भएको ईच्छा र सिर्जनालाई रोक्न सकेनन् । उनी विस्तारै डिजाईन र सम्पादन आफै सिक्न थाले । उनले जेनेक्स मिडिया नामको कम्पनी खोलेर बिस्तारै भिडियोहरु सम्पादन गर्न थाले । उनी निरन्तर ११ वर्षदेखि डिजाईनर तथा भिडियो सम्पादकको रुपमा काम गरिरहेका छन् ।
कम्युटरको किबोर्ड माउस र मोनिटरसँग अभ्यस्त अनिल बिहान ८ बजेदेखि बेलुका १० बजेसम्म सम्पादनकै कार्यमा व्यस्त देखिन्छन् । उनले भिडियोहरु सम्पादन गरेरै महिनाको लाख भन्दा बढी कमाई गर्ने गर्दछन् । कहिलेकाहिँ महिनामा दुई तीन लाख सम्म हुने गरेको उनी बताउँछन् ।
सानैदेखि केही गरौँ र नाम राखौँ भन्ने सोच बोकेका अनिल आफ्ना बाबु आमालाई प्रेरणाको स्रोत मान्छन् । उनी यतिबेला आफैले निर्देशन गरेको म्युजिक भिडियोको सम्पादनमा व्यस्त छन् । अनिल आफैले लेखेको नयाँ लघुचलचित्र निर्माण गर्ने योजनामा पनि रहेका छन् । उनको एउटा सपना छ, चलचित्र निर्देशन गर्ने । यसको लागि ५ वर्षदेखि स्क्रिप्टमा काम गरिरहेका छन् । कुनै निर्माता भेटियो भने चलचित्र निर्माणको कार्य पनि चाँडै सुरु हुने उनी बताउँछन् ।
सम्पादकदेखि निर्देशकसम्म यात्रा
नयाँनयाँ म्युजिक भिडियो, वृत्तचित्र, र चलचित्रको सम्पादन गर्ने सिर्जनशील कर्ममा अनिलले झन्डै डेढ दशक बिताइसकेका छन् । कम्युटरको ज्ञान भएका उनले सम्पादन कला आफैँ सिकेका हुन् । उनले ६ सय भन्दा बढि नेपाली भाषाका म्युजिक भिडियोहरु, सयभन्दा बढि लघुचलचित्रहरु, ६० भन्दा बढि वृत्तचित्रहरु सम्पादन गरिसकेका छन् ।
१ दर्जन ठूलो पर्दाका चलचित्रहरु सम्पादन गरेका अनिलले मट्टिमाला, झमक बहादुर, तिम्रो मन बदलिएछ, कसैलाई नभन्नु, ब्ल्याक ब्युटी, द्रौपदी, सेमिफुङ, फुर्वा, थिम लगायत विदेशी चलचित्रहरु पनि सम्पादन गरेका छन् । जापानिज सर्टफिल्म पुष्प ९द हर्बल ब्वोई० लगायत विभिन्न जातजाति तथा धर्मसँग सम्बन्धित धरै भिडियोहरु सम्पादन गरिसकेका छन् ।
अनिलले सम्पादन मात्र नभई डिजाईन, कलर तथा निर्देशन समेत गर्ने गर्दछन् । एक दर्जन बढि म्युजिक भिडियोहरु तथा लघुचलचित्रहरु निर्देशन गरेका छन् । उनले आफै निर्देशन गरेको लघुचलचित्र गौरव, कम्युटर र बैसाखीे धेरै महोत्सवहरुमा छनोट भएर प्रदर्शनसमेत भईसकेको छ । उनले सगरमाथा म्युजिक अवार्ड, स्टार म्युजिक अवार्डलगायत विभिन्न अवार्डमा सर्वोत्कृष्ट सम्पादकको अवार्डसमेत पाएका छन् ।
FACEBOOK COMMENTS