काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलाई सहयात्रीको रूपमा हेर्नुपर्ने बताएका छन् ।
आज बिहीबार महासङ्घको ५९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा धन्यवाद मन्तव्य व्यक्त गर्दै उनले सरकारले निजी क्षेत्रलाई साक्षीको रूपमा मात्र हेर्न नुहने बताएका हुन् ।
नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ८१ प्रतिशतभन्दा बढी योगदान गरिरहेको निजी क्षेत्रलाई हेयको देष्टिकोणले हेर्ने प्रवृत्ति परिवर्तन हुनुपर्नेमा उनले जोड दिए ।
‘स्थापानको ६ दशकको गौरवपूर्ण यात्रामा नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग, व्यवसाय र लगानी प्रवर्द्धनमार्फत देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । महासङ्घ र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको अध्ययनअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको योगदान ८१ प्रतिशतभन्दा बढी रहेको छ । जसले हाम्रो जिम्मेवारी र सम्भावनालाई प्रस्ट पार्दछ,’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘तर, हामीलाई सरकारले सहयात्रीको रूपमा हेर्नुपर्छ, साक्षीको रूपमा मात्र होइन । निजी क्षेत्रलाई सधैँ गुनासो गर्ने भनेर हेयको दृष्टिकोणले हेर्ने प्रवृत्ति बदलिनुपर्दछ ।’
निजी क्षेत्रले नाफा कमाउन नसके पुँजी निर्माण नहुने र पुँजी निर्माणबिना अर्थतन्त्रको विकास सम्भव नरहेको उनको भनाइ छ ।
FACEBOOK COMMENTS