काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले विधान संशोधनमार्फत महासंघको नेतृत्वका लागि स्वतः अध्यक्ष बन्ने प्रणाली हटाएको छ ।
महासंघको हिजो सोमबार बसेको कार्यसमिति बैठकले विद्यमान विधान संशोधन गरी प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष लगायत पदाधिकारी र कार्यसमिति सदस्यहरू निर्वाचित हुने व्यवस्था पुनः गरेको हो । यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान थियो ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यसअघि पनि यसै बमोजिमको विधान संशोधनका लागि विभिन्न कार्यदल एवम् समितिहरु गठन गरी काम गरिएको भए पनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुनेगरी निर्वाचन गर्ने गरिएको थियो ।
अध्यक्ष ढकालले निर्वाचनकै समयमा विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने वाचा गरेको थिए । यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रुपमा अध्यक्ष लड्न सहयोग पुग्ने र ताजा एजेण्डामा का मगर्न पाइने उनको भनाइ छ ।
यो प्रावधान हाल वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष भएपछिको कार्यकालबाट लागू हुने महासंघले बताएको छ । संशोधित नयाँ विधानमा दुई जना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । हाल एक जना महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।
महासंघको कार्यसमितिबाट संशोधित उक्त विधान आगामी मङ्सिर मसान्तभित्र महासंघको विशेष साधारणसभाले पारित गर्ने बताइएको छ ।
यो पनि पढ्नुहोस्–
उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्न एनसीआईसीकेको प्रस्ताव (प्रस्तावसहित)
FACEBOOK COMMENTS