काठमाडौं । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को सम्मानमा अन्नपूर्ण हिमालको नाममा उनको नाम जोड्ने प्रस्ताव गरिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘अन्नपूर्ण निम्स दाइ फर्स्ट’ नाम राख्ने प्रस्ताव तयार गरी संस्कृति, पर्यnimsटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गर्ने तयारी गरेको हो।
गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार पुर्जाले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल आरोहण गर्ने आफ्नो महत्वाकांक्षी प्रोजेक्ट ‘नथिङ इज इम्पोसिबल’ अभियानको सुरुवात अन्नपूर्ण हिमालबाट गरेका थिए।
यही कारण उनको योगदान र स्मृतिलाई स्थायी रूपमा जोड्न अन्नपूर्णको नाममा ‘निम्स दाइ’ समेट्ने प्रस्ताव अघि सारिएको हो।
पुर्जाको बेलायतमा अन्त्येष्टि सम्पन्न भएपछि नामकरणसम्बन्धी औपचारिक प्रस्ताव नेपाल सरकारसमक्ष पेस गरिने गाउँपालिकाले जनाएको छ।

प्रस्ताव स्वीकृत भए अन्नपूर्ण हिमालको नामसँगै पुर्जाको पहिचान पनि जोडिनेछ।
यससँगै गाउँपालिकाले पुर्जाको सालिक र संग्रहालय निर्माण गर्ने विषयमा समेत छलफल अघि बढाएको छ।
परिवारले जग्गा उपलब्ध गराएमा सोही स्थानमा संग्रहालय र सालिक बनाउने तथा सम्भव नभए रुप्से झरना क्षेत्रमा संग्रहालय स्थापना गर्ने योजना छ। त्यसो पनि सम्भव नभए अन्नपूर्ण आधार शिविरमा संग्रहालय बनाउने विकल्प अघि सारिएको छ।
अन्नपूर्ण आधार शिविर जाने पदमार्ग हाल पहिलोपटक अन्नपूर्ण आरोहण गर्ने फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको सम्मानमा ‘मौरिस हर्जोग ट्रेल’ नामकरण गरिएको छ।
उक्त नामसँग पुर्जाको नाम पनि जोड्ने विषयमा छलफल भइरहेको छ। गाउँपालिका अध्यक्ष पुनका अनुसार यसका लागि हर्जोग परिवारसँग समेत आवश्यक परामर्श गरिनेछ।
गाउँपालिकाले पुर्जाले म्याग्दी, नेपाल र नेपालको हिमाली पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पुर्याएको योगदानको सम्मानस्वरूप नामकरण तथा स्मृति संरचना निर्माणको पहल गरिएको जनाएको छ।