काठमाडौँ । सरकारले उत्पादनमूलक उद्योगको प्रवर्द्धन गर्नका लागि आगामी आर्थिक वर्षमा ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियान सुरु गरेको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले औद्योगिक प्रबद्र्धनका लागि उक्त अभियानको घोषणा गरेको हो ।
यो अभियानमार्फत स्वदेशी उत्पादनलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने नीति सरकारले लिएको राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।
कृषि क्षेत्रमा आधारित उच्च ज्ञान र सिपमा आधारित उद्योगको विकास गर्न औद्योगिक वातावरण निर्माण गर्ने, लगानीयोग्य पुँजीको अभावमा उद्यमशीलता निरुत्साहित हुने अवस्था समेत अन्त्य गर्ने सरकारको योजना छ ।
यस्तै, रोजगारी र उद्यमशीलता उन्मुख स्वरोजगारीका लागि व्यावसायिक तालिमलाई प्राथमिकतामा राख्ने समेत राष्ट्रपतिले बताए । यस्तै, सुरुवाती व्यवसाय सुरु गर्न आवश्यक पर्ने पुँजी सहुलियतपूर्ण ब्याजमा उपलब्ध गराउने समेत सरकारको योजना रहेको छ ।
आवश्यक पर्ने कानून व्यवस्थालाई एकीकृत गर्दै आत्मनिर्भर बन्न सक्ने वस्तु तथा सेवा पहिचान गरेर विकासमा सहयोग गर्ने व्यवस्था समेत सरकारले गरेको छ ।
FACEBOOK COMMENTS