कास्की । गण्डकी प्रदेश सरकारले किसानलाई पाडी,बाच्छी हुर्काउन नगद अनुदान दिएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा पाडी,बाच्छी हुर्काउन किसानलाई ८४ लाख ९९ हजार आठ सय सात अनुदान प्रदान गरेको हो ।
केन्द्रले पोखरा महानगरका १५ वडा तथा मादी गाउँपालिका र रुपा गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको थियो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेले ६ सय ३७ किसानलाई नौ सय ६५ वटा पाडीबाच्छी हुर्काउन १० हजारका दरले सहयोग गरिएको बताए । उनले यस कार्यक्रमका लागि ८५ लाख बजेट विनियोजन गरिएकामा शतप्रतिशत खर्च भएको जानकारी दिए ।
“दूध उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ किसानलाई आफ्नै गोठ र फार्ममा बाच्छी, पाडी हुर्काएर दूध उत्पादनमा उत्प्रेरित गर्न प्रोत्साहन रकम दिएका हौँ । यसबाट किसान खुसी हुनुहुन्छ”, केन्द्र प्रमुख पाण्डेले भने । अनुदान कार्यक्रमले विदेशबाट गाईभैँसी आयात गर्नुपर्ने अवस्थाको विस्तारै अन्त्य छ । कास्कीका यस कार्यक्रम विगत तीन वर्षदेखि कार्यान्वयन भइरहेको छ ।
यसैगरी केन्द्रले चालु आवमा दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रममा एक करोड ४९ हजार सात सय ३८ किसानलाई अनुदान दिएको छ । किसानलाई प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले प्रोत्साहन रकम प्रदान गरिएकोे जनाइएको छ ।
FACEBOOK COMMENTS