काठमाडौं । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामा हिंसाको समस्या बढेको बताएकी छिन् ।
आज चलचित्र विकास बोर्डमा आयोजित ‘महिला चलचित्र महोत्सव’ को समापन समारोहमा अध्यक्ष कोइरालाले काठमाडौँ उपत्यकामा मनोरञ्जनका क्षेत्र भनिने पब, लाउञ्ज, डान्स क्लबलगायत काम गर्ने अधिकांश किशोरीको उमेर १८ वर्ष रहेको र त्यहाँ हुने हिंसाका गुनासा बढिरहेको बताइन् ।
उनले भनिन्, “नेपालबाट महिलाको बेचविखन गरेर विदेश लगिन्छ भनेर हामीले काम गरिरहेका छौँ । अहिले टोलटोलमा खुलेका डान्स क्लब, पब, लाउञ्जमा काम गर्ने केटीहरू साना उमेरका हुनुका साथै हिंसाको शिकार भइरहेका छन् । उनीहरू कुलतमा फस्ने गरेको गुनासो मैले सुनिरहेकी छु । यसमा हामीले ध्यान दिनु आवश्यक छ ।”
उनले आफूले यसका लागि काठमाडौँ महानगरपालिकासँगै अन्य सरोकारवाला निकायसँग छलफल गरे पनि परिणाम नदेखिएको बताइन् । महिला हिंसा रोक्ने र सचेतना बढाउने विषयलाई चलचित्रमा स्थान दिन चलचित्रकर्मीलाई उनले आग्रह गरिन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महिला सशक्त भएर आफ्ना आवाज बुलन्द रुपमा उठाउनुपर्छ भन्ने लागेर नै ‘महिला चलचित्र महोत्सव’ को आयोजना गरिएको बताए ।
“हाम्रो उद्देश्य नै महिलाका समस्यामा छलफल होस् र त्यो विषयलाई चलचित्रका माध्यमले आम मानिससम्म पु¥याउन सकौँ भन्ने हो, विगत तीन दिनदेखि चलेको महोत्सवमा महिलाका विषयमा बनेका चलचित्र, महिलाले बनाएका चलचित्र र महिला केन्द्रित विषयमा अन्तरक्रिया गरेका छौँ । यसको सकारात्मक प्रभाव आगामी दिनमा उहाँहरूमा देखिन्छ भन्ने लागेको छ”, अध्यक्ष डिसीले भने ।
त्यसअवसरमा ‘महिला चलचित्रकर्मी सम्मान’ द्वारा अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री रश्मी भट्ट, अभिनेत्री पशुपति राई, अभिनेत्री थिन्ले ल्हामो, शृङ्गारिक शोभा श्रेष्ठ (मेकअप आर्टिस्ट), कलाकार तथा निर्देशक सरिता शाह र पत्रकार गीता अधिकारीलाई प्रदान गरियो । पुरस्कारको राशी २५ हजार रहेको छ ।
FACEBOOK COMMENTS