इटहरी (सुनसरी) । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ ।
उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी नदीमा शुक्रबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए । राजवंशी श्रीअन्तु गण ईलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नम्वर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए ।
उनीहरूसहित ५६ जनाको टोली विहीबार ७ः४५ बजेदेखि नै विपद उद्धार अभ्यासका लागि कोशी नदीमा खटिएको थियो ।
FACEBOOK COMMENTS