काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका दुई जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि थप भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको हो ।
डीआईजी धौवजीको आगामी असोज २४ सम्म र न्यौपानेको आगामी माघ २९ सम्म उमेर र सेवा अवधि दुवै ननाघ्नेगरी पदावधि थप गरिएको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकको निर्णय औपचारिकरूपमा सार्वजनिक हुन बाँकी छ ।
पदावधि थप गरिएका धौवजी सशस्त्र प्रहरीको केन्द्रीय प्रवक्ता छन् भने न्यौपाने बराहबाहिनी पकली, सुनसरीको बाहिनीपति छन् । पदावधि थप भए पनि उनीहरुको कार्यकाल ३० वर्षे सेवा अवधिका कारण केही महिना मात्रै लम्बिनेछ ।
सशस्त्र प्रहरी नियमावलीको नियम ६५ मा सशस्त्र प्रहरी कर्मचारीहरूको अनिवार्य अवकाशसम्बन्धी व्यवस्था छ । सोही नियमको उपनियममा (१) मा आईजीपी, एआईजी र डीआईजीको कार्यकाल चार वर्षको हुने उल्लेख छ ।
तर उपनियम (२) मा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बहाल रहेका सशस्त्र प्रहरी अधिकृतको पदावधि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ ।
थप गरिएको एक वर्षपछि त्यो भन्दा माथिल्लो तहमा बढुवा नभएमा अवकाश हुने प्रष्ट उल्लेख छ । तर, एआईजी र डीआईजीको उमेर ५६ वर्ष पुगेमा भने पदावधि बाँकी हुँदै अनिवार्य अवकाश हुनेछन् । आईजीपीको उमेर हद ५८ वर्षे छ । ३० वर्षे सेवा अवधि पूरा भएमा पनि अनिवार्य अवकाश हुने व्यवस्था छ ।
डीआईद्वयको हकमा तत्काल एआईजीको दरबन्दी थप नहुने र ३० वर्षे सेवा अवधि पूरा हुने भएपछि दुवैजना डीआईजीबाटै अवकास हुने सम्भावना छ ।
FACEBOOK COMMENTS