काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
हिजो शुक्रबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा कम्पनीका अध्यक्ष संतिश न्यौपानेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभाले अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८०को वार्षिक प्रतिवेदनलाई छलफल गर्दै पारित गरेको छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल गर्दै पारित भएको छ ।
यसैगरी, सभाले आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि गरेको छ ।
सभाले कम्पनीले नयाँ आयोजनाहरुको पहिचान, विकास, प्रवर्द्धन गर्न लगानी गर्ने तथा अन्य कम्पनीबाट समेत प्रवर्द्धन भई विकास तथा निर्माण भइरहेको जलविद्युत आयोजनाहरूमा लगानी गर्ने अख्तियारी समेत सञ्चालक समितिलाई प्रदान गरेको छ ।
कम्पनीले आफ्नो लगानी तथा बैक ऋणबाट सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्लामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम आयोजनाको रुपमा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७२ भदौ २ गतेदेखि राष्ट्रिय ग्रिडमा विद्युत् प्रवाह गरी व्यापारिक उत्पादन गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेशमा निजी लगानीबाट १७ महिनाभित्र निर्माण गरी सञ्चालन भएको यो नै पहिलो जलविद्युत् आयोजना हो । कम्पनीले दोस्रो आयोजनाको रूपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत् आयोजना २०७६ साल कार्तिक १३ गतेदेखि व्यापारिक उत्पादन गरी राष्ट्रिय ग्रिडमा विद्युत् प्रवाह गरिरहेको छ ।
कम्पनी द्वारा सञ्चालनमा रहेका यी दुवै आयोजनाबाट उत्पादित विद्युत् शक्ति नेपाल विद्युत् प्राधिकरणको अत्तरिया–वलाँच १३२ केभी ट्रान्समिसन लाइन मार्फत विद्युत् प्रवाह भइरहेको छ ।
यसैगरी, अपि पावरले ४० मेगावाट क्षमताको तेस्रो जलविद्युत् आयोजना माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्दै राष्ट्रिय ग्रिडमा विद्युत् जोडिसकेको छ ।
कम्पनीले धनुषाको ढल्केरबरमा १ मेगावाट, बाराको सिमरामा १ मेगावाट र ४ मे.वा चन्द्रनिगाहपुरमा सोलार आयोजनाको निर्माण गरी राष्ट्रिय ग्रिडमा जोड्न सफल भइसकेको छ ।
कम्पनीका सञ्चालक समितिका प्रबन्धक निर्देशक सञ्जिव न्यौपानेले अर्को वर्ष १० प्रतिशत भन्दा माथि लाभांश दिने सेयरधनीलाई प्रतिबद्धता जाहेर गरे ।
त्यतिमात्र होइन अपि पावरका प्रबन्ध निर्देशक न्यौपानेले शेयर धनीलाई सरप्राइजको रुपमा अपि पावरले ११ मेगावाटको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको ८० प्रतिशत लगानी लागेको खुलासा गरे । उनले भने, ‘कम्पनीको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ, अपिको ८० प्रतिशत लगानी रहने छ । बाँकी प्रोमोटर र सर्वसाधारणले समेत लगानी गर्न पाउने छन् ।’
FACEBOOK COMMENTS