काठमाडौँ । एप्पल र युरोपेली संघबीचको विवाद फेरि चर्किएको छ । यस पटक विवादको केन्द्रमा एप्पलले भर्खरै सार्वजनिक गरेको नयाँ सिरी एआई सुविधा रहेको छ, जुन विश्वव्यापी विकासकर्ता सम्मेलन २०२६ मा प्रस्तुत गरिएको थियो ।
एप्पलले यो पहिलेभन्दा धेरै स्मार्ट मानिएको भ्वाइस असिस्टेन्ट हाललाई चीन र युरोपेली संघका देशहरूमा उपलब्ध नगराइने स्पष्ट गरेको छ ।
चीनमा एप्पलको योजना कानुनी नियमसँग जोडिएको छ । त्यहाँ एआई सेवा सञ्चालन गर्न स्थानीय एआई साझेदारसँग सहकार्य गर्नुपर्ने व्यवस्था छ । कम्पनीले अहिले यही दिशामा काम गरिरहेको जनाएको छ, ताकि चिनियाँ नियमभित्र रहेर सेवा सुरु गर्न सकियोस् ।
युरोपमा भने अवस्था अझै जटिल छ । एप्पल र युरोपेली संघबीच प्रत्यक्ष असहमति देखिएको छ । एप्पलले जारी गरेको आधिकारिक भनाइ अनुसार डिजिटल बजार ऐन नामक कडा नियमका कारण आगामी आईओएस २७ र आईप्याडओएस २७ अद्यावधिकसँगै सिरी एआई युरोपमा उपलब्ध गराउन नसकिने अवस्था छ । कम्पनीको लामो समयदेखि समाधानका विभिन्न विकल्प प्रस्ताव गरे पनि युरोपेली नियामक निकायले त्यसलाई स्वीकार नगरको आरोप छ ।

यो रोक मुख्य रूपमा आईफोन र आईप्याडमा लागू हुने बताइएको छ । युरोपमा प्रयोगकर्ताले म्याक कम्प्युटर र भिजन प्रो जस्ता उपकरणमा भने सिरी एआई प्रयोग गर्न पाउनेछन्, किनकि ती उपकरणहरू फरक नियमको दायरामा पर्छन् । यो सम्पूर्ण विवादको जड युरोपेली संघको डिजिटल बजार ऐन हो । युरोपेली संघको माग अनुसार एप्पलले सिरी एआईको पहुँच प्रतिस्पर्धी कम्पनीहरूलाई पनि दिनुपर्ने हुन्छ। तर एप्पलले यसलाई अस्वीकार गर्दै यस्तो गर्दा प्रयोगकर्ताको गोपनीयता र सुरक्षा जोखिममा पर्न सक्ने बताएको छ। यसमा सन्देश, अनलाइन भुक्तानी र व्यक्तिगत फाइलसम्मको पहुँचको जोखिम उल्लेख गरिएको छ।

एप्पलले प्रयोगकर्ताको पूर्ण सुरक्षा सुनिश्चित नभएसम्म युरोपका आईफोन र आईप्याड प्रयोगकर्ताका लागि कुनै निश्चित समयरेखा तय नगरिएको बताएको छ ।

युरोपेली संघका नियामकहरूले एप्पलको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनका प्रवक्ताले एप्पलले नियमअनुसार समाधान खोज्ने प्रयास नगरेको आरोप लगाएका छन् । उनका अनुसार एप्पलले नियमसँग मिल्ने बाटो खोज्नुको सट्टा लामो समयसम्म छुट माग्ने प्रयास मात्र गरेको हो ।
यो विवादका कारण अन्ततः सबैभन्दा बढी असर सामान्य प्रयोगकर्तामा परेको छ । एप्पल आफ्नो गोपनीयता नीतिमा अडिग छ भने युरोपेली संघ आफ्ना नियम कार्यान्वयनमा दृढ देखिएको छ । यसले गर्दा युरोपका आईफोन प्रयोगकर्ताले नयाँ सिरी एआई सुविधा पाउन अझै लामो समय कुर्नुपर्ने अवस्था देखिएको छ ।