काठमाडौं । सामाजिक सञ्जालमा केहीबेर अघिदेखि एउटा तस्बिर निकै भाइरल भइरहेको छ ।
हतकडी लगाएको हात, नेपाल प्रहरीको लोगो र ठूलो अक्षरमा लेखिएको छ, ‘तपाईँ विरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ? सुनिश्चित गर्नका लागि एक पटक क्यूआर कोड स्क्यान गर्नुहोस्’ ।
प्रहरीले नै सार्वजनिक गरेजस्तो देखिने यो सूचनाले धेरैलाई झस्कायो । आफ्नो नाममा कतै उजुरी त छैन भनेर जिज्ञासावश सयौँ प्रयोगकर्ताले उक्त क्युआर कोड स्क्यान गरे । तर, स्क्यान गरिसकेपछि मोबाइलको स्क्रिनमा देखियो– ‘अप्रिल फुल’ !
यो कुनै साइबर अपराधीको फण्डा नभई नेपाल प्रहरीले अप्रिल १ (अप्रिल फुल) को अवसरमा नागरिकलाई सचेत गराउन अपनाएको एउटा रचनात्मक शैली थियो ।
मजाकभित्र लुकेको गम्भीर चेतावनी

प्रहरीले रमाइलो शैलीमा ‘अप्रिल फुल’ बनाए पनि यसको पछाडि एउटा गम्भीर सन्देश लुकेको छ । क्युआर कोड स्क्यान गरेपछि देखिने सन्देशमा भनिएको छ, ‘आज हामीले तपाईँसँग सानो मजाक गर्यौं, तर भोलि यस्तै अपरिचित क्युआर कोडका कारण तपाईँ ठुलो ‘स्क्याम’ वा ठगीमा पर्न सक्नुहुन्छ ।’

पछिल्लो समय डिजिटल ठगीका घटनाहरू बढ्दै गएका छन् । चिट्ठा परेको लोभमा वा अन्य बहानामा अपरिचित व्यक्तिले पठाएको क्युआर कोड स्क्यान गर्दा बैंक खाता खाली हुने, व्यक्तिगत विवरण चोरी हुने र मोबाइल नै ह्याक हुने जोखिम बढेको छ ।

प्रहरीको आग्रह : नचिनेको स्रोतबाट आएका कोड स्क्यान नगर्नू
नेपाल प्रहरीले यो अभियानमार्फत सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । ‘अज्ञात व्यक्ति वा स्रोतबाट प्राप्त भएको क्युआर कोड कहिल्यै स्क्यान नगर्नुहोला । आफू मात्र होइन, आफ्नो परिवार र बालबालिकालाई पनि यसबारे जानकारी गराउनुहोस्,’ प्रहरीको सन्देशमा उल्लेख छ ।
प्रहरीको यो फरक शैलीको सचेतना कार्यक्रमलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रशंसा गरेका छन् । ‘सुरूमा त म पनि डराएँ, तर सन्देश हेरेपछि थाहा पाएँ कि यो त हाम्रो सुरक्षाकै लागि रहेछ,’ एक प्रयोगकर्ताले प्रतिक्रिया दिए ।
प्रहरीले समय–समयमा यस्ता रचनात्मक माध्यमबाट नागरिकलाई डिजिटल सुरक्षा र साइबर अपराधबारे सचेत गराउँदै आएको छ ।
FACEBOOK COMMENTS