काठमाडौं । मुलुककै सबैभन्दा ठूलो यातायात कम्पनी अरनिको यातायात प्रालिले काठमाडौंको जडीबुटीमा बसपार्क निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
कम्पनीले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर आफ्नै खर्चमा बसपार्क निर्माण गरेको हो । यो बसपार्क सञ्चालनमा आएसँगै भक्तपुर र काभ्रेपलाञ्चोकको सीमाना साँगाभञ्ज्याङ भएर काठमाडौं भित्रिने यात्रुहरूलाई केही राहत मिलेको छ ।
बसपार्क सञ्चालनबाट यातायात कम्पनी र यात्रुहरूलाई सहजता भए पनि बसपार्क भने काुननत: अवैधानिक रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । अरनिको यातायात प्रालिले यात्रुको सहजताका लागि आफ्नै खर्चमा बसपार्क बनाए पनि महानगरले त्यसलाई अनुमति दिएको छैन । यद्यपि, बसपार्क हाल सञ्चालन अवस्थामै छ ।
एउटै स्थानीय तहभित्र दुई वटा बसपार्क सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाको नीति भएका कारण सो नयाँ बसपार्कले अनुमति नपाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनका अनुसार कामपा–२६ गोंगबुस्थित विष्णुमति खोला किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्क महानगरको आधिकारिक र एकमात्र बसपार्क हो । ‘हामीले जडीबुटीको बसपार्कलाई मान्यता दिएका छैनौँ । महानगरको एकमात्र गोँगबुस्थित नयाँ बसपार्क मात्रै हो,’ उनले भने ।
प्रवक्ता मानन्धरले एउटै पालिकाभित्र धेरै बसपार्क सञ्चालन गर्दा ट्राफिक व्यवस्थापनमासमेत समस्या हुने भएकाले एक पालिका एक बसपार्कको नीति लिइएको बताए । उनका अनुसार पछिल्लो समय कमपाले यत्रतत्र छरिएर रहेका सार्वजनिक बसलाई अनिवार्यरुपमा बसपार्क भित्रबाट सञ्चालन गर्न सूचना जारी गरेको छ ।
‘काठमाडौँभित्रको ट्राफिक व्यवस्थापनलाई थप सहजता होस् भनेर महानगरले चक्रपथ वरपर सडकबाट जथाभावी छुट्ने सार्वजनिक सवारी साधनलाई बसपार्कभित्रबाट सञ्चालन गर्न सूचना जारी गरेका हौँ,’ प्रवक्ता मानन्धरले भने । तर, महानगरको यो निर्णयबाट साँगाभञ्ज्याङ भएर काठमाडौं प्रवेश गर्ने यात्रुहरूले सास्ती खेप्न परिरहेको थियो । जडीबुटी, कोटेश्वर, बानेश्वर, रत्नपार्कलगायत स्थानमा ओर्लिनुपर्ने यात्रु गोंगबु पुगेर ओर्लिनुपर्ने र पुन: घण्टौं लगाएर फर्किनुपर्ने तथा रातको समयमा महङ्गो शुल्क तिरेर ट्याक्सी प्रयोग गर्नुपर्ने समस्याले यात्रुहरू समस्यामा पर्दै आएका छन् ।
सोही समस्या समाधानका लागि अरनिको यातायातले आफ्नै खर्चमा बसपार्क बनाएर यात्रुलाई सहजता दिएको अरनिको यातायात प्रालिका अध्यक्ष अध्यक्ष दार क्षेत्रीले बताए ।
काठमाडौं महानगरपालिकाले पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क सञ्चालन गर्न नदिने भन्दै अटेर गरे भत्काउने चेतावनी यसअघि दिएको थियो ।
प्रदेश र स्थानीय सरकारसँग अनुमति नै नलिई बसपार्क निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिका र प्रदेश यातायात मन्त्रालयले त्यसलाई कुनै पनि हालतमा सञ्चालन गर्न नदिने बताउँदै आएको छ ।
गत असोज ८ गते पत्रकार सम्मेलन गर्दै प्रालिले जबरजस्ती भत्काउन खोजे प्रतिकार गर्ने बताएको थियो । प्रालिका अध्यक्ष केदार क्षेत्रीले महानगरपालिकाले पुरानो बसपार्कबाट बसहरू धपाएपछि विकल्पका लागि बाध्यतावश बसपार्क बनाउनु परेको बताउँदै आएका छन् ।
त्यसो त उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै काठमाडौं महानगरपालिकालाई उक्त बसपार्क नभत्काउन आदेश दिएको हो ।
‘निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरुको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरुलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८(२)(ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१)(क) बमोजिम विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरुलाई दिनु’ आदेशमा भनिएको छ ।
FACEBOOK COMMENTS