काभ्रेपलाञ्चोक । डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा पर्ने निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द गरेको छ।
फागुन १५ गते बिहीबार कार्यालयले जारी गरेको सार्वजनिक सूचनामार्फत यो चार किलोमिटर लामो सडकखण्डको विस्तार कार्यको ठेक्का रद्द भएको जानकारी दिइएको हो। कार्यालयको मंगलबार बसेको बैठकले ठेक्का रद्द गर्ने निर्णय गरेको थियो।
जिल्ला सदरमुकाम धुलिखेलदेखि खावासम्मको सडक विस्तारका लागि गौरी पार्वती निर्माण सेवा प्रालिले वि.सं. २०७९ जेठ २० मा ठेक्का सम्झौता गरेको थियो। उक्त कम्पनीले २०८० चैत १९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा ठेक्का लिएको थियो। तर, ठेकेदारले निर्माणमा ढिलासुस्ती गर्दै आएकाले समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि काम सम्पन्न भएको थिएन। पछिल्लो एक वर्षदेखि यो सडकखण्डको निर्माण कार्य ठप्पजस्तै बनेको थियो।
सडक प्रयोगकर्ताहरूले पटक–पटक गुनासो गरेपछि र यात्रुहरूले सास्ती भोगेपछि संसद्को पूर्वाधार समितिले समेत अनुगमन गरेको थियो। सडक डिभिजन कार्यालयले बारम्बार ताकेता गर्दा पनि ठेकेदारले निर्माणमा ढिलाइ गरिरहेपछि गत माघ १९ गते पुनः स्पष्टीकरण मागिएको थियो। कम्पनीले लिखित जवाफ दिए पनि त्यो सन्तोषजनक र विश्वसनीय नभएको भन्दै ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको कार्यालयले जनाएको छ।
“अब हामीले प्रक्रिया पूरा गरेर एक–दुई हप्ताभित्रै पुनः ठेक्का आह्वान गर्नेछौँ। भौतिक र वित्तीय प्रगतिको प्रतिशतका आधारमा समायोजन पनि हुनेछ,” कार्यालय प्रमुख सुमन योगेशले भने। उनका अनुसार हालसम्म २५ प्रतिशत वित्तीय प्रगति भएको छ।
हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटानको काम मात्र भएको छ। केही ठाउँमा नाली र ड्रेन–वाल बनाइएको छ भने जिपलाइनदेखि खावासम्मको सडक भत्काइएको छ, तर करिब एक किलोमिटर क्षेत्रमा कटानको काम बाँकी नै छ। गत जेठमा धुलिखेलतर्फबाट बेस र सब–बेस हाल्ने काम सुरु गरिए पनि वर्षाको कारण सबै बगेर सडक खण्डहरजस्तै बनेको थियो।
निर्माण समयमै सम्पन्न नहुँदा यो राजमार्ग प्रयोग गर्ने सवारीका यात्रुले दुई वर्षदेखि ठूलो सास्ती भोग्नुपरेको छ। पुनर्निर्माणका लागि भत्काइएको सडकमा समयमै काम नसकिँदा सयौँ दुर्घटना भएका छन्, जसमा धेरै यात्रु घाइते भएका छन्। केही वर्षदेखि जीर्ण बन्दै गएको यो सडकखण्डलाई १२ मिटर फराकिलो बनाएर कालोपत्रे गर्ने योजना थियो।
FACEBOOK COMMENTS