काठमाडौं । सर्बिया, माल्टा र क्रोयसियामा वैदेशिक रोजगारीको अवसर देखाएर लाखौँ रुपैयाँ गठी गर्दै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाराका दिपेश बास्कोटा, धादिङकी लक्ष्मी श्रेष्ठ र सिन्धुपाल्चोककी भवानी बोहोरा छन् ।
पक्राउ परेकामध्ये बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय दिपेश बास्कोटाले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै १७ लाख १७ हजार ३०० रूपैयाँ ठगी गरेका छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
बास्कोटाले ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा प्याकिङको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
यस्तै, काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भएकी २९ वर्षीया लक्ष्मी श्रेष्ठले वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ६ लाख ८ हजार रूपैयाँ ठगी गरेकी छिन् । उनलाई हिजो शुक्रबार प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले २ जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटेलमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

यसैगरी, ललितपुर महालक्ष्मी नगरपालिका–९ लुभु बस्ने सिन्धुपाल्चोक त्रिपूरासुन्दरी गाउँपालिका–६ घर भएकी ४६ वर्षीया भवानी बोहराले वैदेशिक रोजगारीका लागि क्रोयसिया पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेकी छिन् । उनलाई पनि हिजो शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

बोहराले २ जनालाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर लुभुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।