काठमाडौं । मोटरसाइकल चोरी गरेर भागेका दुई जनालाई प्रहरीले कलंकीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–७ हसनटार डेरा गरी बस्ने २० वर्षीय किरन तामाङ र चन्द्रागिरी नगरपालिका दहचोक डेरा गरी बस्ने १८ वर्षीय किशोर रहेका छन् । दुवैजना धादिङ गजुरी गाउँपालिका–८ किरनचौरका भएको प्रहरीले जनाएको छ ।
उनीहरूले मोटरसाइकल चोरी गरेर नम्बरप्लेट परिवर्तन गरिरहेको अवस्थामा काठमाडौं महानगररपालिका–१४ कलंकीबाट हिजो शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
कलंकीस्थित सडकमा मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई बा.प्र ०२–०४० प ६३८१ नम्बर तथा बा.प्र ०२–०४७ प ११८३ नम्बरका २ थान मोटरसाइकल र चोरी गर्न प्रयोग गर्ने सामानसहित पक्राउ गरेको हो ।
FACEBOOK COMMENTS