काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार सुनसरी, बर्दिया, उदयपुर, चितवन र पर्सालगायत स्थानबाट ती व्यक्तिहरूलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।
प्राप्त जानकारी अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१६ न्यु पशुपति मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय ३० मिलिग्राम र नगद ४ हजार ८ सय रूपैयाँसहित सोही उपमहानगरपालिका–४ बस्ने २८ वर्षीय विश्वराज राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–७ रानिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्रामसहित सोही गाउँपालिका–३ तमौलिपुर बस्ने ३० वर्षीय बिमल परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आँउदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, उदयपुरको कटारी नगरपालिका–४ सिम्लेबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय होम बहादुर जोगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
चितवनको राप्ती नगरपालिका–१ दुबिचौरबाट अवैध लागूऔषध गाँजा ४० किलो ७ सय ग्रामसहित सोही ठाउँ बस्ने २० सुरेन्द्र चेपाङ समेत ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
पर्साको वीरगञ्ज महानगरपालिका–१६ सिंहाई पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३०० मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१६ नागवा बस्ने १९ वर्षीय सुनिल साह तुरहा र ३३ वर्षीय विशाल पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.५७ प ४४८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
FACEBOOK COMMENTS