काठमाडौं । सपनाको देश अमेरिका तथा क्यानडा, माल्दोवा र कतारमा रोजगारीको अवसर देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा राजन पन्त, बलराम भट्टराई, दलबहादुर बस्नेत र मोहम्मद गुलाब छन् । उनीहरूले विभिन्न व्यक्तिहरूबाट ५४ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार नवलपरासीको पश्चिम बर्दघाट नगरपालिका–४ दिब्यनगर बस्ने २८ वर्षीय पन्तले अमेरिका पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेका थिए । उनले एक जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको हल्दिबारी गाउँपालिका–१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ कपन बस्ने ४० वर्षीय भट्टराईले क्यानडा पठाइदिन्छु भन्दै २० लाख रूपैयाँ ठगी गरेका छन् ।उनले एक जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाई प्रतिष्ठित होटेलमा मासिक ४ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेको प्रहरीको भनाइ छ ।
ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–७ घर भएका ६७ वर्षीय दल बहादुर बस्नेतले माल्दोवा पठाइदिन्छु भन्दै २४ लाख रूपैयाँ ठगी गरेका छन् । उनले चार जनालाई वैदेशिक रोजगारीका लागि माल्दोवा पठाई प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डमा मासिक २ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, सिरहाको बरियारपट्टी गाउँपालिका–४ घर भई काठमाडौं टोखा नगरपालिका–११ बस्ने ३२ वर्षीय मोहम्मद गुलाबले कतार पठाइदिन्छु भन्दै दुई लाख रूपैयाँ ठगी गरेका छन् । उनले एक जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई प्रतिष्ठित होटलमा मासिक ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेका थिए ।
उनीहरू सबैमाथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS