काठमाडौं । काठमाडौंको एक खाजाघरमा वेश्यालयको सुविधा उपलब्ध गराउँदै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टोखा नगरपालिका–९ दिपज्योति मार्ग बस्ने दार्चुला व्यास गाउँपालिका–६ हुती घर भएका २९ वर्षीय लोकेन्द्र बडु र टोखा नगरपालिका–९ बस्ने सर्लाही हरिवन नगरपालिका–२ घर भएकी ३७ वर्षीया कान्छीमाया घिसिङ छन् ।
नाबालिकाहरूलाई वेश्यावृतिमा लगाएको अभियोगमा प्रहरीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो । उनीहरूले टोखा नगरपालिका–९ स्थित सुर्खेत खाजाघरमा नाबालिकाहरुलाई विभिन्न किसिमको डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले खाजाघर सञ्चालक उनीहरूलाई पक्राउ गरेको हो । साथै पीडित बालिकाको पनि उद्दार गरिएको प्रहरीले जनाएको छ ।
नाबालिकालाई नेपालका विभिन्न स्थानबाट वेटर लगायतको काममा लगाउने भनि खाजाघरमा ल्याई विभिन्न किसिमको डरत्रास र प्रलोभन देखाई ग्राहकहरूसँग खाजाघरमा नै रहेको कोठामा र ग्राहकले चाहेमा बाहिरको होटेल र गेष्टहाउसहरूमा समेत पठाई वेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
FACEBOOK COMMENTS