रूपन्देही । प्रहरीले गैंडाको खागसहित रुपन्देहीमा तीन जनालाई पक्राउ गरेको छ। बुधबार दिउँसो ३ बजेतिर बुटवलबाट गैंडाको खागसहित तस्करीमा संलग्न तीन जनालाई ईलाका प्रहरी कार्यालय बुटवल रूपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये सुमन न्यौपानेले लगाएको ज्याकेटमा खोजी गर्दा ज्याकेटको भित्री गोजीमा लुकाइ राखेको कालो रङको ४ इन्च गोलाइ, ४ इन्च लम्बाइ भएको गैंडाको खागजस्तो चिज वस्तु फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले गैंडाको खागको कारोबार हुँदैछ भन्ने विशेष सुराकीको आधारमा बुटवल वडा नं.५ स्थितमा रहेको हरियाली होटल एण्ड लजको चौथो तलाको ११८ नं. कोठामा बसेको बेला उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकाहरूमा अर्घाखाँची छत्रकोट गाउँपालिका वडा नं .७ बस्ने वर्ष ४८ को नरबहादुर सुनार, वर्ष ५८ को पदम सुनार र छत्रकोट वडा नं.५ रानीचाप बस्ने वर्ष २८ को सुमन न्यौपाने रहेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षकले पक्राउ परेका तीनै जना र बरामद गरिएको खागलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भैरहवा पठाइएको जानकारि दिएका छन्।