काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टी र तरुण दललाई पहिलो नम्बरको सङ्गठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिएकी छिन् ।
नेपाल तरुण दल जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले बनेपामा आयोजना गरेको ‘बृहत् तरुण भेला’मा उनले पार्टी र सङ्गठन बलियो बनाउन निरन्तर खट्नुपर्ने बताइन् ।
अहिले राजनीतिक परिस्थिति फरक भएका कारण गठबन्धन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले पार्टीभित्र एकता बढाउन सकेमा एक नम्बरको पार्टी बनाउन सकिने उनले बताइन् ।
“अब पार्टीलाई पहिलो बनाउनका लागि हरक्षण कसरी सक्रिय बनाउन सकिन्छ भन्ने विषय तरुणहरूका लागि चुनौती हो”, उनले भनिन्, “भोट हाल्ने दिनमा घण्टी, हलो र सूर्यलाई हाल्ने अनि अरु बेला कांग्रेस भनेर हिँड्नुको अर्थ छैन ।”
अरु जिल्लामा घण्टी कांग्रेस धेरै सुनेको भए पनि काभ्रेपलाञ्चोक जिल्लामा सूर्यमुखी कांग्रेस धेरै भएको उनको भनाइ थियो । पार्टीलाई एकताबद्ध बनाउनका लागि तरुण दलले भूमिका खेल्न आवश्यक रहेको उनले धारणा राखिन् ।
तरुण दल पार्टीको मेरुदण्ड भएको र जनतालाई कांग्रेसको सोचको पक्षमा उभ्याउँदै राष्ट्रप्रतिको समर्पित भाव, लोकतन्त्र तथा समाजवादप्रतिको आस्थालाई एकत्रित गर्नका लागि सङ्गठन एकढिक्का भएर लाग्न आवश्यक रहेकामा उनले जोड दिए ।
उनले कोभिडका कारण समस्यामा पुगेको अर्थतन्त्र उकास्नका लागि योजना ल्याएर सरकारलाई सहयोग गर्नसमेत उनले सुझाव दिए ।
नेपाल तरुण दलका पूर्वसभापति एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले पछिल्लो समयमा नयाँ पुस्ताका युवाले नयाँ पार्टीमा भोट हालेर गरेको गल्तीबाट पाठ सिकेर आफ्नो पार्टीमै फर्काउने परिस्थिति निर्माण गर्नका लागि तरुण दल र नेविसङ्घलाई भूमिका खेल्न आग्रह गरिन् ।
अझै पनि तरुण दल, महिला सङ्घ र नेविसङ्घ केन्द्रलाई छिट्टै पूर्णता दिनका लागि पार्टीले सोच्नुपर्ने बेला आएको उनको भनाइ छ । निर्वाचन सकिएको चार महिना बितिसक्दासमेत अहिले पनि सरकार बनाउनेतर्फ नै केन्द्रित हुनुपर्ने अवस्था रहेको भन्दै अब पार्टीले त्यसलाई छिट्टै टुङ्ग्याएर पार्टी सङ्गठन निर्माणमा केन्द्रित हुन पार्टी नेतृत्वले सोच्न आवश्यक रहेको बताइन् ।
FACEBOOK COMMENTS