काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यलाई नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सपथ गराउने भएका छन् ।
सदनको सबैभन्दा ज्येष्ठ सदस्यको हैसियतमा उनले सभाको अध्यक्षता गर्ने र अन्य सांसदलाई पद तथा गोपनीयताको सपथ गराउने भएका हुन् ।
संविधानको धारा ९१ (५)मा सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा सभामा उपस्थित ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने र सपथ गराउने व्यवस्था छ । ७८ वर्षका केसी नयाँ संसदमा सबैभन्दा बढी उमेरका सांसद हुन् ।
समानुपातिक कोटाबाट सांसद बनेका उनले सुरूमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिनेछन् । त्यसपछि अन्य सांसदहरुलाई सपथ गराउने छन्। साथै, सभाको पहिलो बैठकको अध्यक्षता पनि केसीले नै गर्नेछन् । सोही बैठकले सभामुख र उपसभामुखको निर्वाचन तालिका तय गर्ने सम्भावना छ ।
निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्यहरुको विवरण तयार पारेर संसद सचिवालयलाई बुझाउने तयारी गरेको छ । चैत १० देखि १५ गतेभित्र सांसदहरुको सपथ ग्रहण गराउनेगरी तयारी भइरहेको संसद सचिवालयकी सूचना अधिकारी (उपसचिव) सावित्रा शर्माले जानकारी दिइन् ।

FACEBOOK COMMENTS