काठमाडौं । राजनीतिक बेथिति, सामाजिक विकृति र विसङ्गतीविरुद्ध कवितामार्फत तीखो व्यङ्ग्य प्रहार गर्दै आएका जनकवि अर्जुन पराजुलीमाथि भ्रष्टाचारको आरोप लगाइएको छ ।
विभिन्न विषय र प्रसङ्गलाई केन्द्रित गरी दैनिकरूपमा कविता लेखी सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका उनले आज बुधबार आफूमाथि ‘भ्रष्टाचार’को आरोप लागेको भन्दै त्यसको खण्डन गरेका छन् ।
भ्रष्टाचार गर्नुपर्ला भनेर लोकसेवा पास गरेर खाएको स्थायी जागिर समेत छोडेर फुटपाथमा पसल थाप्ने मान्छेलाई भ्रष्टाचारको आरोप लगाइएकामा उनले आश्चर्य प्रकट गरेका छन् । ‘जसले स्कुल नै डेरामा चलाएको छ, उसले सार्वजनिक जग्गा खायो भनेर हल्ला चलाउन भ्याइसकेछन् । सायद अब मलाई मुद्दा पनि लगाउँछन् होला ! मेरो दल छैन, नेता छैन, सरकार छैन, मुद्दा मलाई नलगाएर कसलाई लगाउने त !?,’ उनले भनेका छन्, ‘सायद यो देशको सबैभन्दा ठूलो अपराधी म नै हुँ । किनकी मैले लुटपाटको चर्को बिरोध गरेँ ।’
उनले आफूमाथि जुनसुकै मुद्दा चलाएर जेलै हाले पनि लेख्न नछोड्ने स्पष्ट पारेका छन् । ‘महोदय मलाई जेजे सजाय दिने हो दिए हुन्छ, गोलघरमा लगेर हातखुट्टा नै बाँधेर राखे त मेरो केही लाग्दैन, नत्र मलाई लेख्नबाट कसैले रोक्न सबैक्दैन । म ज्यान छोड्न सकुँला, लेख्न छोड्न सक्दिन,’ उनले लेखेका छन् ।
यस्तै, आफूमाथि भ्रमको खेती गर्नेहरूको उद्देश्य लेख्न छुटाउने भए पनि उनीहरू सफल नहुने उनको भनाइ छ । ‘मेरो कसैप्रति आग्रह, पूर्वाग्रह छैन । म जन्मिँदा मेरी आमाको रगतले भिजेको माटो छ यो देशमा । अंशवण्डा गर्ने नै हो भने पनि देशको एउटा टुक्रो मेरो भागमा पनि पर्छ । यसलाई लुटेको टुलुटुलु हेरेर म कसरी बसौँ ?!,’ चेतावनीस्वरुप उनले भनेका छन्, ‘भ्रमको खेती गर्नेहरू हो– मलाई लेख्न छुटाउन अनेक तिगडम गर्नु पर्दैन, ‘तिमी लुट्न छोड, म लेख्न छोडिदिन्छु ।’
कवि अर्जुन पराजुली भुइँमान्छेका आवाज उठाउने लोकप्रिय कवि हुन् । कुशासन, भ्रष्टाचार, विकृति र विसङ्गतीविरुद्ध मन छुने कविताहरूमार्फत उनी धारिलो प्रहार गर्ने गर्दछन् । उनले आफ्ना ती सृजनाहरू हरेक बिहान सामाजिक सञ्जाल फेसबुकमा हस्तलिखित पोस्ट गर्दै आएका छन् । उनको निष्पक्ष । निर्भीक कविता हजारौँले पढ्ने र प्रतिक्रिया दिने गरेको देखिन्छ ।
हेर्नुहोस् उनको स्पष्टीकरण–
FACEBOOK COMMENTS