काठमाडौं। नेपालको कृषि उद्योग र खाद्य क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै Arksh Food ले पहिलो पटक कोदोको बिस्कुट अष्ट्रेलिया निर्यात गर्न सफल भएको छ।
अष्ट्रेलियाका लागि अधिकृत वितरक Hama Global Pty. Ltd. बाट अष्ट्रेलियाको प्रत्येक बजार क्षेत्रमा उपलब्ध गराउने उद्देश्यले यो निर्यात सुरु गरिएको हो ।
अहिले अष्ट्रेलियाका धेरैजसो बजारमा कोदोको बिस्कुट पाइने भएको छ । यसले नेपाली मौलिक अन्न कोदोलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने दिशामा महत्वपूर्ण कदम चालेको संकेत गर्दछ ।
कोदो-जसलाई अंग्रेजीमा Millet भनिन्छ – नेपाली समुदायमा लामो समयदेखि उच्च पोषणयुक्त, परम्परागत र बहुपयोगी अन्नको रुपमा सम्मान गरिँदै आएको छ। अघिल्लो पुस्तामा रोटी र हिँडो बनाउन प्रयोग हुने कोदोलाई आजको पुस्ताको स्वाद र जीवनशैली अनुसार बिस्कुट, कुकीज र पफमा रुपान्तरण गर्दै बजारमा ल्याइएको हो ।
अष्ट्रेलियामा बसोबास गर्ने बढ्दो नेपाली समुदायलाई आफ्नै देशको स्वादको झल्को दिलाउने उद्देश्यका साथै, स्वस्थ, दिगो र नेपाली संस्कृतिमा आधारित खाद्य विकल्प अष्ट्रेलियाली समुदायलाई चिनाउने लक्ष्यले यो पहिलो पटक निर्यात गरिएको हो । स्वास्थ्यप्रति सचेत र प्राकृतिक उत्पादन मन पराउने अष्ट्रेलियाली उपभोक्ताका लागि कोदो उच्च फाइबर र आवश्यक खनिजयुक्त स्वस्थ विकल्प
बन्न सक्छ ।
Arksh Food ले कोदोलाई आधुनिक स्वरुपमा पुनर्जीवित गर्ने दृष्टिकोणबाट आफ्नो यात्रा सुरु गरेको हो । अहिले नेपालमा ‘Made in Nepal’ उत्पादनहरू प्रयोग गर्न थालिएको छ, तर Arksh Food ले ‘Made in Nepal’ उत्पादन मात्र भएर नहुने, त्यसमा प्रयोग कच्चा पदार्थ पनि नेपालकै हुनुपर्छ भन्ने मान्यता राखेको छ । ‘Made in Nepal’ उत्पादनहरूमा पनि नेपालमै उत्पादित कच्चा पदार्थलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो धारणा हो । त्यसै अनुरूप, हाम्रो उत्पादन कोदो बिस्कुटमा प्रयोग हुने कोदो पनि हाम्रो आफ्नै किसानहरुले उत्पादन गरेका हुन् ।
बाहिरबाट आयात गरिएको कोदो धेरै सस्तोमा उपलब्ध छ, तर पनि हामी आफ्नै किसानहरुलाई प्रोत्साहन गर्न र गुणस्तरमा ध्यान राखेर आफ्नै माटोको कोदो प्रयोग गर्छौ,” Arksh Food का बजार निरीक्षकले बताए ।
उनका अनुसार, पहिलो चरणमा चीनीयुक्त र चिनीविनाको विकल्पमा कोदो बिस्कुट नेपाली बजारमा प्रस्तुत गरियो । त्यसपछि क्रमशः कोदो पफ र कोदो कुकीज थप्दै उत्पादनको विविधता विस्तार गरिएको छ, जसले स्वदेशी उपभोक्तामाझ उच्च प्रशंसा पाएको छ। यसले स्थानीय किसानहरुलाई प्रत्यक्ष समर्थन गर्दै, जलवायु मैत्री र परम्परागत खेती प्रणालीको प्रवर्धनमा समेत टेवा पुयाएको छ।
अष्ट्रेलियामा सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि, Arksh Food ले अब संयुक्त राज्य अमेरिका, बेलायत, जापान र मध्यपूर्व लगायतका अन्य मुलुकहरूमा पनि कोदो उत्पादन निर्यात गर्ने तयारी थालेको छ। परम्परागत र स्वास्थ्यप्रद खानाको विश्वव्यापी माग बढिरहेको वर्तमान अवस्थामा, Arksh Food ले कोदोलाई नेपाली सम्पदा र स्वास्थ्यप्रतिको भविष्यको प्रतिकका रुपमा प्रस्तुत गर्न चाहन्छ ।
FACEBOOK COMMENTS