काठमाडौं । बहुआयामिक र गतिशील व्यावसायिक प्रतिष्ठान अर्क्श ग्रुपअन्तर्गतको अर्क्श फुडले नेपालमै पहिलोपटक मकैको बिस्कुट, कुकिज र पफ उत्पादन सुरू गरेको छ ।
स्थानीय किसानहरूले उत्पादन गर्ने मकै र महलगायत वस्तुहरू सङ्कलन गरी सुक्खा खानाका रूपमा बिस्कुट, कुकिज र पफ उत्पादन गर्न थालिएको अर्क्श ग्रुपले जनाएको छ ।
अर्क्श फुडले उत्पादन गरेको यो खानेकुरा पूर्णरूपमा साकाहारी र स्वस्थकरसमेत रहेको अर्क्श ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजुल श्रेष्ठले बताए । उनका अनुसार यी उत्पादनलाई कर्न ग्रिट्स, हाइ फाइबर र लेस सुगर जस्ता विशेषताले उच्च गुणस्तर प्रदान गरेको छ ।
मकै, मह, चक्की आटा, चिनी, दूधको पाउडर, नुन र तेल को सम्मीश्रणबाट अति स्वादिष्ट उत्पादन तयार पारिएको श्रेष्ठको भनाइ छ । उनका अनुसार यी उत्पादनमा मैदाको मात्रा शून्य छ । पछिल्लो समय मैदाजन्य खानेकुराबाट मानिसहरूको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको तथ्यलाई दृष्टिगत गर्दैे मकैको बिस्कुट, कुकिज र पफमा मैदा समावेश नै नगरिएको हो ।
हाइ फाइबरले पाचन प्रणालीलाई सहज बनाउने, कोलेस्ट्रेल फ्रि ले मुटु स्वस्थ राख्न मद्दत गर्ने, ट्रान्सफ्याट फ्रिले शरीरलाई पूर्ण स्वस्थ राख्न मद्दत गर्ने र साकाहारी भएकाले सबैले सहजै उपभोग गर्न सक्ने भएकाले यी उत्पादन बजारमा सर्वाधिक रुचाइएको पनि कम्पनीले दाबी गरेको छ ।
अर्क्श ग्रुपको यो प्रयासबाट नेपाली उपभोक्ताले नेपाली उत्पादन नै प्रयोग गर्न पाउनाका साथै रोजगारी वृद्धि र किसानमा नयाँ उत्साहसमेत थपिएको छ ।
FACEBOOK COMMENTS