काठमाडौं । सशस्त्र प्रहरी बलले कैलालीको खक्रौलास्थित सीमा सुरक्षा गुल्ममा भएको घटनामा कमान्डरसहितका कर्मचारीलाई हेडक्वार्टर तानेको छ।
चैत ४ गते भारतबाट अवैध रूपमा ल्याइएको सामान जफत गरिएको विषयलाई लिएर स्थानीय व्यापारीको समूह अनधिकृत रूपमा सशस्त्र प्रहरी बलको कार्यालय भित्र प्रवेश गरी गुल्मपतिमाथि हातपात भएको थियो।
सो घटनामा छानबिन र सुरक्षामा लापरबाही गरेको भन्दै सशस्त्र प्रहरीले गुल्मपति डिएसपी प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौंस्थित प्रधान कार्यालय झिकाइएको हो।
कार्यालयभित्र छिरेर कमाण्डरमाथि हातपातको प्रयास हुँदा समेत के कति कारणले बल प्रयोग नभएको र युनिट सुरक्षामा ध्यान नदिएको हो भन्ने विषयमा प्रधान कार्यालयले गम्भीर रुपमा छानविन गर्ने पनि सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
तस्कर समुह सशस्त्र प्रहरी बल नेपालको कार्यालय भित्र छिरेर हुलहुज्जत कसरी सिर्जना भयो भन्ने विषयमा समेत प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको डिएसपी थापाले बताए।

सो घटनाको विषयमा छानविन गर्नको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं. ४३ रिजर्भ गण वनवेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा छानविन समिति गठन गरेको छ ।

तत्काल घटनाको समयमा त्यहाँ उपस्थित रहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई मुख्यालय तानिएको छ भने सो कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीबाट टोली बदली समेत गरिएको छ।

FACEBOOK COMMENTS