काठमाडौं । धनुषामा ‘घुस’ रकमसहित सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षक पक्राउ परेका छन् । मिथिला नगरपालिकाको लालगढबाट ४० हजार रुपैयाँ ‘घुस’सहित सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारी पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उनलाई अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले शुक्रबार बिहान लालगढबाट नियन्त्रणमा लिएको हो । कमला–ढल्केवर–वाग्मती सडक निर्माणका निम्ति माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग अधिकारीले घुस रकम माग गरेका अख्तियारले जनाएको छ ।
रकम नदिँदा निर्माण कार्यमा प्रयोग हुने सवारीसाधन रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र काममा निरन्तर दु:ख–हैरानी दिने गरेका आरोपमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।