काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब बिच प्रतिस्पर्धा हुने भएको छ । मङ्गलवार पोखरा रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । यता एपीएफले सुदुरपश्चिमलाई ५–१ को गोल अन्तरले पराजित गरेर फाइनल यात्रा तय गरेको छ ।
गण्डकी र आर्मीबिचको खेलमा परिवर्तित खेलाडी सुदिल राईले निर्णायक गोल गरे । आर्मी समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
दोस्रो सेमिफाइनल खेलमा एपीएफ र सुदूरपश्चिमले पहिलो हाफ १–१ गोलको बराबरी खेले पनि दोस्रो हाफमा सुदूरपश्चिम सम्हालिन नसक्दा पराजित भयो । एपीएफको जितमा प्रदीप लामाले २, नवीन लामाले १, विकु तामाङले १ तथा हरि कार्कीले १ गोल गरे । सुदूरपश्चिमका लागि कुवेर सिंहले सान्त्वना गोल फर्काए । एपीएफ समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते बिहीबार पोखरा रङ्गशाला स्थित फुटबल मैदानमा हुनेछ । बिहीबार नै तेस्रो स्थानका लागि गण्डकी र सुदूर पश्चिमबिच पहिलो खेल हुनेछ ।
FACEBOOK COMMENTS