काठमाडौं । विद्युत नियमन आयोगले जारी गर्न लागेको नयाँ निर्देशिकामा बैंकको पुरानो ऋण तिर्न जलविद्युत कम्पनीहरुलाई हकप्रद निष्कासन गर्न दिइने व्यवस्था गर्न लागेको छ । अर्कोतर्फ नयाँ आयोजना निर्माणका लागि पुँजी जुटाउन भन्दै केही कम्पनीहरुले धमाधम लाभांश घोषणासँगै हकप्रद जारी गर्ने निर्णय पनि गरिरहेका छन् । यिनै कारणले जलविद्युत कम्पनीहरुको सेयरभाउमा एकाएक उछाल आएको देखिन्छ । बैंकको पुरानो ऋण तिर्न हकप्रद निष्कासन गर्न लागेका कम्पनीलाई नै माथ दिनेगरी आफु खुसी हकप्रद दिने सुचना निकाले र बजार बढाएपछी विद्युत नियमन आयोगले पनि एउटा सूचना जारी गर्दै लगानीकर्तालाई कम्पनीका आधारभूत पक्ष अध्ययन गरेरमात्र लगानी गर्न सचेत गराएको छ ।
बजार जानकारहरु भने हकप्रदको पछाडि दौडिएर लगानीकर्ताहरुले आधारभूत रुपमा कमजोर कम्पनीहरुको सेयर पैसा खन्याउँदा भविष्यमा जोखिम हुन सक्ने बताउँछन् । उनीहरुले आधारभूत पक्ष बलिया भएका कम्पनीमा लगानी गर्दा सुरक्षित हुने बताउँदै आएका छन्।
आयोगका सूचना अधिकारी नुतनप्रकाश शर्माले हाल केही कम्पनीहरुले नयाँ आयोजना निर्माण गर्न आवश्यक पुँजी जुटाउन हकप्रद जारी प्रक्रिया अगाडि बढिरहेकोले त्यसलाई सम्बोधन गर्न केही न केही प्रक्रिया अगाडि बढाइने बताए । ‘सबै कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिनैपर्छ भन्ने छैन’, उनले भने, ‘कस्ता कम्पनीहरुलाई हकप्रद निष्कासनको अनुमति दिने भन्ने विषयमा निर्देशिकामार्फत सम्बोधन गरिनेछ।’
शर्माले जलविद्युत कम्पनीहरुमा देखिएको विकृति अन्त्य गर्न हालको ३ वर्षे लकिङ पिरियडलाई बढाउनुपर्ने आवश्यक औँल्याए। ‘कि भने जलविद्युत कमपनीहरुमा अहिलेका बैंक तथा फाइनान्सको जस्तै सेयर स्वामित्व अनुपात संस्थापक र सर्वसाधरणमा ५१ः४९ बनाउनुपर्ने देखिन्छ’, उनले भने।
यस विषयमा बजार नियामक नेपाल धितोपत्र बोर्डले पनि तदारुकता देखाउनुपर्ने शर्माको भनाइ छ। ‘यदि क्याप्टेनले उडिरहेको विमानको क्याबिन नै छोडर हिँडे भने दुर्घटना हुन सक्छ’, उदाहरण दिँदै उनले भने, ‘यसरी नै जलविद्युतका संस्थापकहरुले सबै सेयर स्वामित्व सर्वसाधारणलाई दिने हो भने कम्पनी डुब्न सक्छ।’
जलविद्युत कम्पनी भनेको प्राविधिक विषय पनि भएकोले सबै सेयर स्वामित्व सर्वसाधारणलाई नै दिने विषय उपयुक्त मान्न नसकिने शर्माको भनाइ छ । ‘यसले कम्पनीहरुको मनसाय सेयर बजारबाट मात्रै कमाउने हुन जान्छ’, उनले भने, ‘जलविद्युत कम्पनीहरुले बिजुली बेचेर कमाउने हो, सबै सेयर बेचेर कमाउने होइन । सर्वसाधरणमा सेयर जारी गर्न त उनीहरुलाई पुँजी जुटाउन दिएको सुविधा हो । तर धेरैजसो कम्पनीले यसको गलत फाइदा लिएका छन्।’
FACEBOOK COMMENTS