काठमाडौं । ज्यान मार्ने धम्की दिई पाँच करोड रुपैयाँ माग गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय (जिप्रका) कास्कीबाट खटिएको प्रहरी टोलीले बुधवार ती व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्वत घर भई हाल पोखरा बस्दै आएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका छन् ।
प्रहरीका अनुसार १८ माघमा पोखरामा रहेको सच्चाइ सेवा केन्द्रका सञ्चालक तथा सच्चाइ केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्रकाशदिप गैरेले आफूलाई फोन तथा एमएमएसमार्फत ज्यान मार्ने धम्की आएको उजुरी दिएका थिए ।
गैरेका अनुसार फिरौती माग्ने व्यक्तिले हिन्दी भाषामा कुरा गरेर पाँच करोड रुपैयाँ माग गरेका थिए । रकम नदिएमा उनी र उनका परिवारको ज्यान लिने भन्दै धम्की दिएपछि गैरेले जिप्रका कास्की निवेदन दिएका थिए । त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा बुधवार राति गैरेलाई धम्काउने व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दर्जी र क्षेत्रीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS