काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले सट्टाबाजीमा सङ्लग्न २३ भारतीय नागरिकलाई सार्वजनिक गरेको छ ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित दोर्जे शेर्पाका घरमा अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले ८१ हजार, ८८ थान मोबाइल, ल्यापटप, भारतीय सीम र आधार कार्ड, एटिएम, सिमकार्डलयायत कारोबारको हिसाब राखिएको नोटबुकसमेत बरामद गरेको थियो । पक्राउ गरिएकाहरूलाई सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले सो प्रकरणमा करिब तीन अर्बको अनलाइन जुवा खेलाएको हालसम्मको अनुसन्धानबाट खुलेको जानकारी दिए ।
उनले शान्ति सुरक्षा, अपराध अनुसन्धान, यातायात व्यवस्थापन र मानव बेचबिखन नियन्त्रणलगायतका विषयलाई उच्च प्राथमिकतामा राखेर सङ्गठनले काम गरिरहेको बताए ।
परिसरलाई विनियोजित बजेटको ८० प्रतिशतभन्दा बढी साधनस्रोत र जनशक्ति शान्ति सुव्यवस्थाका लागि खर्च भइरहेको जानकारी दिँदै अधिकारीले शान्ति सुरक्षा र न्यायिक कार्य सम्पादनलाई उच्च प्राथमिकतामा राखिएको बताए । “सेवा प्रवाहलाई सहज र गुणस्तरीय बनाउने प्रयास भइरहेको छ, राज्यले अघि सारेको विकास र खुसी प्राप्त गर्ने अभियानमा शान्ति सुरक्षा नै पहिलो शर्त हो भन्ने मान्यतालाई आत्मसात गरेका छौँ”, वरिष्ठ प्रहरी उपरीक्षक अधिकारीले भने ।
परिसर मातहत करिब चार हजार जनशक्ति रहेका र सो जनशक्तिले एक हजार एक सयभन्दा बढी विषयमा नागरिकलाई सहयोग पु¥याइरहेको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS