काठमाडौं । गेष्ट हाउसमै वेश्यालय चलाउँदै आएका गोरखाका शम्भुलाल मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा गोरखा पालुङटार नगरपालिका–६ घर भएका ४५ वर्षीय मल्ललाई सोमबार प्रहरीले पक्राउ गरेको हो । उनले काठमाडौं महानगरपालिका–१६ बालाजुमा पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट चलाउँदै आएका थिए ।
उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त गेष्ट हाउसबाट दुई जना बालिकाहरूको उद्दार गरी सुरक्षित आवासको लागि सेल्टरहोममा पठाएको पनि प्रहरीले जनाएको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
FACEBOOK COMMENTS