काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक प्रलोभन देखाउँदै ठगी धन्दा चलाउने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टोखा नगरपालिका–३ बस्ने नुवाकोट म्यागङ गाउँपालिका–१ घर भएका ५४ वर्षीय न्याउरे तामाङ र काठमाडौं महानगरपालिका–३० बस्ने ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ घर भएका ३५ वर्षीय जीवन कडरिया छन् । उनीहरूले वैदेशिक रोजगारीमा युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ मध्ये न्याउरेले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ६९ हजार रूपैयाँ र जिवनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३ लाख २० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले न्याउरेलाई टोखा नगरपालिका–३ बाट र दिपकलाई काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
FACEBOOK COMMENTS