काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका(३२ बस्ने ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–(५ घर भएकी ३७ वर्षीया सुनिता ईधिङगो लिम्बु, काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका–(१० घर भएका ३० वर्षीय अभिशेष कराला, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–१ घर भएका ४६ वर्षीय चेतनारायण आचार्य, काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–७ घर भएका ४९ वर्षीय रेशम लाल लामा तामाङ र काठमाडौं नागार्जुन नगरपालिका–६ बस्ने काठमाडौं महानगरपालिका–१७ घर भएकी ४२ वर्षीया निलिमा श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये सुनिताले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ, अभिशेषले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ, चेतनारायणले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ६० हजार रूपैयाँ, रेशमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र निलिमाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनितालाई काठमाडौं महानगरपालिका–३२, अभिशेषलाई काठमाडौं महानगरपालिका–१२ बाट, चेतनारायणलाई काठमाडौं महानगरपालिका–२६ बाट र रेशमलाई काठमाडौं महानगरपालिका–६ बाट सोमबार तथा निलिमालाई काठमाडौं नागार्जुन नगरपालिका–६ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
