वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले स्रोत नखुलेको पाँच लाख २२ हजार ४९० सहित दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) बेलबिछवाबाट खटिएको सीमा गस्ती टोलीले रौतहटको राजदेवी नगरपालिका–८ बाट स्रोत नखुलेको रकमसहित भारतको विहार राज्य सितामढीका नजिर नटको साथबाट तीन लाख २२ हजार र सर्लाही जिल्ला स्थायी घर भएका मुम्ताज अन्सारीको साथबाट दुई लाख ४९० सहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गौरका गुल्मपती एवं सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसागर विष्टले दुवै जानको साथबाट बरामद गरिएको रकम गौर भन्सार कार्यालयमा बुझाएर आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिए ।
सशस्त्र प्रहरीले निजहरू सवार रहेको विआर ०६ए ६२९२ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटरका गणपति रामहरि अधिकारीले सशस्त्र प्रहरीले पछिल्ला दिनमा सीमा क्षेत्रमा सक्रियता बढाएसँगै अवैध सरसमान बरामद हुने क्रम बढेको बताए ।
